काठमाडौं, मंसिर १९ । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् ।
राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गर्नुभएको थियो । तर त्यसको केही घण्टामा नै उहाँले मार्सल कानुन फिर्ता गर्न बाध्य हुनुभयो ।
राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रिय सभा (संसद) मा प्रवेश गरेर उहाँको निर्णय रोक्न मतदान गरेका थिए । केही सांसदले भवनमा प्रवेश गर्न सुरक्षाकर्मीका अवरोध तोडेका बताएका थिए । एक सांसदले आफू पर्खालमा चढेर संसद् भवनमा पसेको र त्यसका लागि प्रदर्शनकारीहरूले मद्दत गरेको बताएका थिए ।
संसद्मा उपस्थित सबै १ सय ९० सांसदहरूले मार्सल कानुनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो निर्णय उल्टाउने घोषणा गर्नुभएको थियो । तर बुधबार सांसदहरूले राष्ट्रपति युनविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरेका हुन् ।
राष्ट्रपति युनले दक्षिण कोरियालाई ‘उत्तर कोरियाको कम्युनिष्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्वहरूलाई परास्त गर्न मार्सल कानुन आवश्यक भएको’ दाबी गर्नुभएको थियो । उत्तर कोरियालाई उद्धृत गरे पनि राष्ट्रपति युनको निर्णयलाई घरेलु दबाब र घोटालाहरूको श्रृंखलाको प्रतिक्रियाको रूपमा हेरिएको छ ।
सांसदहरूले अब आगामी दिनहरूमा राष्ट्रपतिविरुद्धको महाभियोगमा मतदान गर्नेछन् । संसद्को दुई तिहाई बहुमतबाट महाभियोग अनुमोदन भएको खण्डमा युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । अदालतले पनि उहाँविरुद्धको महाभियोग पारित भयो भने त्यसको ६० दिनभित्र नयाँ निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्