जनता टाइम्स

१० पुष २०८१, बुधबार ०७:५७

सिद्धबाबा सुरुङमार्गका छिचोलिए तीन वटै बाइपास


रुपन्देही, पुस १०। सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास) छिचोलिएको छ । दोस्रो सहायक सुरुङ छिचोलिएसँगै आयोजनाको तीन वटै सहायक सुरुङ छिचोल्ने काम सम्पन्न भएको हो । यसअघि नै पहिलो र तेस्रो बाइपास सुरुङ छिचोलिने काम सम्पन्न भएको थियो ।

सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाका अनुसार आयोजना अन्तर्गतको दोस्रो बाइपास सुरुङ सोमबार छिचोलिएको हो । यसअघि तेस्रो बाइपास भदौ २६ गते र पहिलो बाइपास असोज ४ गते छिचोलिएको थियो । पहिलो, दोस्रो र तेस्रो बाइपास सुरुङको लम्बाइ क्रमशः १५२ मिटर, १६१ मिटर र १३० मिटर रहेको छ ।

केन्द्रका निर्देशक झाले मुख्य सुरुङको कुल लम्बाइमध्ये अब ७५ मिटर मात्र खन्न बाँकी रहेको बताउँदै अहिलेसम्म आयोजनाको कुल भौतिक प्रगति ३७ प्रतिशत रहेको जानकारी दिनुभयो । आयोजनाको मुख्य सुरुङ फागुनको पहिलो साताभित्र छिचोलिने गरी काम भइरहेको उहाँको भनाइ छ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुने छ ।

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससिइसी) ले निर्माण ठेक्का पाएको यस सुरुङमार्गको खन्ने काम भने २०८० माघ ४ गतेदेखि सुरु भएको हो । यो आयोजना सात अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङमार्ग बनाउनुपर्ने माग गर्दै आएका थिए । यो क्षेत्रमा हरेक वर्ष माथिबाट खसेको पहिरोका कारण कैयौँ यात्रुले ज्यान गुमाउनु परिरहेको छ । जस्को कारणयो मार्गलाई मृत्युमार्ग’ का रूपमा चिनिने गरिन्छ । गत एक दशकमा सिद्धबाबा खण्डमा पहिरोका कारण भएको दुर्घटनाका कारण ७० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

सिद्धबाबा सुरुङ निर्माणका लागि २०७७ मङ्सिर १ गते मन्त्रीपरिषद् बैठकले आवश्यक प्रक्रिया अगाडि बढाउन निर्णय गरेको थियो । २०७८ जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । त्यही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । पाँच वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो । दुई वर्षसम्म बाहिरी भागमा प्रारम्भिक काम गरेको निर्माण कम्पनीले पछिल्लो एक वर्षभित्र सुरुङको मुख्य काम गरिरहेको छ ।

केन्द्रका निर्देशक झाले छनोट भएका निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा सुरुङमार्ग निर्माण भइरहेको बताउनुभयो । यस मोडेल अनुसार निर्माण कम्पनीले सुरुङमार्ग निर्माणको डिजाइन र कमिसनिङ स्वयम् आफैँले गर्नुपर्ने हुन्छ । यस्तो मोडलमा निर्माण कम्पनीले डिजाइन, खरिददेखि कन्स्ट्रक्सनसम्मको काम आफैँंले गर्नुपर्ने हुन्छ ।

त्यसै गरी सुरुङमार्ग निर्मााण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डिएलपी)’ निर्माण सम्बन्धित निर्माण कम्पनीको नै हुने उहाँले बताउनुभयो । ‘डिएलपी’ को अवधिमा सुरुङमार्गको मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुने छ ।