जनता टाइम्स

११ पुष २०८१, बिहीबार २३:५४

पत्रकार महासंघलाई सञ्चारमन्त्रीको सुझाव : सत्तापक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकायको रूपमा पत्रकारिता हुनुपर्छ


काठमाडौं, पुस ११ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारिता क्षेत्र स्वनियमनमा चल्नु पर्ने बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा बिहीबार नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवम् शुभकामना दिनुहुँदै मन्त्री गुरुङले लोकतान्त्रिक राज्य व्यवस्थामा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकायको रूपमा पत्रकारिता हुनु पर्ने बताउनुभयो ।

यो क्षेत्र स्वतन्त्र भए पनि स्वनिमनमा चल्नु पर्नेमा उहाँले जोड दिनुभयो । गुरुङले पत्रकारिता क्षेत्र राजनीति भन्दा माथि उठ्नु पर्ने पनि बताउनुभयो ।

‘पत्रकार राजनीतिकरणबाट मुक्त हुनुपर्छ र स्वव्यवस्थित हुनेमा पनि जोड दिनुपर्दछ’, गुरुङले भन्नुभयो ।

पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन मिडिया विधेयक बन्ने क्रममा रहेको गुरुङले जानकारी दिनुभयो । पत्रकारिता पेसा जोखिमपूर्ण र अस्थिर भएको बताउँदै उहाँले यसलाई व्यवस्थित गराउन आफू लागि रहेको बताउनुभयो ।

सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महसंघले भूमिका खेल्नु पर्ने गुरुङले बताउनुभयो । यसमा नयाँ नेतृत्वले प्रभावकारी काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकार महासंघ संघ मन्त्रालयले मिलेर काम गर्ने बताउनुभयो । महासंघका नव निर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारका पेसागत चुनौती धेरै रहेका बताउनुभयो ।

यस्ता चुनौतीका बिचमा पनि नेपाल पत्रकार महासंघ अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पत्रकारहरूले श्रमको मूल्य नपाउनेदेखि मानसिक र शारीरिक पीडा समेत भोग्दै आएका बताउनुभयो ।

पत्रकार र पत्र कारिताको पेसागत सुरक्षाको लागि आफ्नो नेतृत्वमा महासंघको टिम लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।