जनता टाइम्स

१२ पुष २०८१, शुक्रबार ०८:२५

उपत्यकासहित सुदूरपश्चिम र कर्णालीमा वर्षाको संभावना, आइतबारदेखि मौसममा क्रमिक सुधार


काठमाडौं, पुस १२। पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महााखाका अनुसार आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने महाशाखाको भनाई छ ।

महाशाखाका वरिष्ठ मौसमविद मीनकुमार अर्यालका अुनसार आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ ।

यस्तै आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ । काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने छ ।

यसैगरी शनिबार देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,’ अर्यालले भने, ‘काठमाडौं उपत्यकामा भोलि शनिबार हल्का वर्षाको सम्भावना छ । हल्का वर्षा भनेको १० मिलिमिटर भन्दा कम पानी पर्नु हो । १० मिलिमिटरदेखि माथि ५० मिलिमिटर भन्दा तलको अवस्थालाई भने मध्यम खालको वर्षा भनिन्छ ।

यो अवस्था आइतबारबाट क्रमशः सुधार हुने देखिन्छ । आइतबार यसको प्रभाव छिटफुट मात्र रहन्छ । आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ । बदली पनि अलि बढी पश्चिमतिर केन्द्रित रहने छ । आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मात्र वर्षा हुने देखिन्छ ।

यो प्रणालीले जाडो बढाउने छ । त्यसैले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन।