काठमाडौँ, पुस १३ । त्रिभुवन विश्वविद्यालय स्वर्ण दीक्षान्तसम्म आइपुग्दा अब्बल नतिजा ल्याएर पदक जित्नेमा छात्रभन्दा छात्रा विद्यार्थीको संख्या धेरै छ ।
त्रिविले ५० औं दीक्षान्तबाट ७४ हजार १ सय ४९ जनालाई शैक्षिक उपाधि प्रदान गर्ने भएको छ । शनिबार दशरथ रंगशालामा हुने स्वर्ण दीक्षान्तमा तीमध्ये सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै २२ वटा पदक र पुरस्कार प्रदान गरिँदै छ । पदक र पुरस्कार पाउनेमा छात्रभन्दा छात्राको संख्या बढी छ । २२ पदक र पुरस्कारमध्ये १७ वटा छात्रा र ५ वटा मात्र छात्रले पाएका छन् ।
विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा सर्वप्रथम भएका छात्रछात्रालाई पदक र पुरस्कार प्रदान गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।
त्रिविका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले सबै पेसा, व्यवसाय, प्राज्ञिक क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्दै गएकाले अब्बल हुने छात्राको संख्या पनि वृद्धि हुँदै गएको बताउनु भयो ।
दीक्षित हुनेमध्ये १४ हजार ३ सय ८ जनाले दीक्षान्त समारोह दशरथ रंगशालामा सहभागी हुन आवेदन दिएका छन् । तीमध्ये ८ हजार ४ सय ४९ जना (५९ प्रतिशत) छात्रा, ५ हजार ८ सय ५८ जना (४१ प्रतिशत) मात्र छात्र र १ जना लैंगिक अल्पसंख्यक रहेका छन। त्रिविमा पढ्ने विद्यार्थीमा पनि महिला बढी छन ।
विश्वविद्यालय अनुदान आयोगकाअनुसार ४ लाख ९१ हजार २९९ विद्यार्थीमध्ये २ लाख ८६ हजार ८५० जना (५८ प्रतिशत) छात्रा र २ लाख ४ हजार ४४९ जना (४२ प्रतिशत) छात्र छन् ।
समग्र उच्चशिक्षामा पनि छात्राको संख्या बढेर गएको छ । देशभरका २२ विश्वविद्यालय तथा सोही हैसियतमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ लाख ५८ हजार छात्रा (५७ प्रतिशत) र २ लाख ७४ हजार छात्र (४३ प्रतिशत) अध्ययरत रहेको आयोगको वार्षिक प्रतिवेदनको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्