जनता टाइम्स

१६ पुष २०८१, मंगलवार १०:१९

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुकविरुद्ध पक्राउ पुर्जी जारी


सियोल, पुस १६ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो पटक हो । राष्ट्रपति यूनले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा पर्नुभएको थियो । विपक्षी दलसमेतको विरोधपछि उहाँले ६ घण्टामै निर्णय फिर्ता लिनुभएको थियो ।

सोही प्रकरणमा संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि उहाँ पदबाट निलम्बित अवस्थामा रहनुभएको छ । यो विषय संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाको कानुन अनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ ।

राष्ट्रपति यूनले चालेको कदमको विषयमा भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीन पटकसम्म उपस्थित हुन राष्ट्रपति योललाई भनेका थिए । तर, उहाँ उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै सोमबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जीको अनुमति माग गरेका थिए । कुनै उच्च अधिकारीविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गर्नुपरे सियोल पश्चिमी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्दछ ।

संयुक्त जाँच मुख्यालले विज्ञप्ति जारी गरी निलम्वित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि मंगलबार बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ ।