जनता टाइम्स

१७ पुष २०८१, बुधबार ०१:०१

अंग्रेजी नयाँ वर्ष २०२५ सुरु, नेपालमा पनि गरियो बिशेष ढंगले स्वागत


काठमाडौं, पुस १७ । आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत २०२५ सुरु भएको छ । नेपालमा पनि अंग्रेजी नयाँ बर्षलाई बिशेष रुपमा स्वागत गरिएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको मान्यता रहेको छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याइएको बताइन्छ । उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत मनाइन्छ ।

मङ्गलबार बेलुकीदेखि नै संघीय राजधानी काठमाडौंको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको थियो । यस्तै नेपालका प्रमुख शहरहरुमा पनि नयाँ बर्षलाई बिशेष रुपमा मनाइएको छ ।