काठमाडौं,पुस १९। बझाङमा गए राति भएको जिप दुर्घटनामा एकै घरका तीन सहित पाँच जनाको ज्यान गाएको छ ।
जिल्लामा एकैदिन भएको दुईवटा दुर्घटनामा उनीहरूको ज्यान गएको हो । बझाङको तलकोट गाउँपालिकाको धमेनामा बिहीबार राति जिप दुर्घटना हुँदा एकै घरका तीन जनासहित चार जनाको ज्यान गएको छ । त्यस्तै मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमती देवी धामी, उहाँको छोरा ३६ वर्षीय बमबहादुर धामी र बमबहादुर धामीकी छोरी ६ वर्षीय आकृति धामीको ज्यान गएको छ । दुर्घटनामा जिप चालक केदारस्यु गाउँपालिका–१ का ३३ वर्षीय सम्शेर मल्लको पनि ज्यान गएको छ ।
से १ ज ८४३ नम्बरको जिप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको हो । जिप सडकबाट झन्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
त्यस्तै बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय जिप चालक धर्म थापा रहेका प्रहरीले जनाएको छ ।
भातेखोलाबाट रनाडा जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्