जनता टाइम्स

२२ पुष २०८१, सोमबार १९:३७

लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौं, पुस २२ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्न राष्ट्रपति पौडेलले सोमबार शीतलनिवाशमा आयोजना गर्नुभएको कार्यक्रममा यस्तो बताउनु भएको हो । राष्ट्रपति पौडेलले नेपालेको सामाजिक र आर्थिक रूपान्तरणमा पनि नेपाली पत्रकारिता क्षेत्रले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने धारणा पनि राख्नुभयो ।

सूचनाको हक लोकतन्त्रको आधारस्थम्भ भएको बताउँदै पौडेलले संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्नुभयो । ‘त्यही भएर लोकतन्त्रको सुदृढीकरण र यसको स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु’, उहाँले भन्नुभयो ।

सूचना प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको उहाँले बताउनुभयो । योसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चार माध्यमहरू सचेत हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

‘नागरिक पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग बढ्दो छ, यसले सूचना सम्प्रेषण र प्राप्तिमा सजिलोसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी देखिएको छ’, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठता जस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र सम्प्रेषणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा राष्ट्रपति पौडेलले महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मासहित सवैलाई स्वागतसहित बधाई ज्ञापन गर्नुभएको थियो ।