काठमाडौं, पुस २८ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट मौसममा बदली सुरु भइसकेको जनाएको छ । महाशाखाकी मौसमविद विनु महर्जनले यतिखेर मौसम बदली क्रमशः फैलिने क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको हो । आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने महर्जनले बताउनुभयो ।
महर्जनका अनुसार आइतवार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने छ भने दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने ‘स्ट्रङ’ प्रणाली भने नदेखिएको बताउँदै उहाँले सोमबारदेखि मौसम सुधार हुने जानकारी दिनुभयो । तराईका कतिपय क्षेत्रमा क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पछिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँठाउँमा जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्