जनता टाइम्स

२८ पुष २०८१, आईतवार १८:२०

पुस्तक लेखेकै कारण राणाले जेलमै प्राण त्याग्न बाध्य पारेका शहीद कृष्णलालको नाममा लोकमार्गको नामाकरण


रामेछाप, पुस २८ । नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलालको सम्मान स्वरुप कृष्णलाल लोकमार्ग नामाकरण गरिएको छ ।

मकैको खेती नामक ऐतिहासिक कृतिका लेखक स्वर्गीय कृष्णलाल अधिकारीको स्मृतिमा रामेछापको मन्थलीबाट कठजोर हुँदै धोबी पुग्ने सडकलाई कृष्णलाल लोकमार्ग नामाकरण गरिएको हो । शुक्रबार सम्पन्न मन्थली नगरपालिकाको १६ औँ नगर अधिवेशनले सो सडकलाई कृष्णलाल लोकमार्ग घोषणा गर्ने निर्णय गरेको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

करिब २० किलोमिटर लामो सो सडक प्रदेश सरकार र मन्थली नगरपालिकाको लगानीमा सुधार र विस्तार हुँदै आएको छ । हाल वडा नम्बर २ को वडा कार्यालय नजिकसम्म सडक कालोपत्रे भएको छ । सडकको थप कालोपत्रे गर्ने काम अघि बढिरहेको छ ।

सुब्बा कृष्णलाल अधिकारीको जन्म विसं १९४४ साल माघ २४ गते हालको मन्थली नगरपालिका–२ मा कठजोरमा भएको थियो । राणा शासनकालमा सुब्बाको जागिरे कृष्णलालले मकैको खेती नामक पुस्तक प्रकाशन गर्नुभएको थियो । सो पुस्तकमा मकै खेतीमा राता टाउके र काला टाउके किरा लाग्छन भनेर अधिकारीले उल्लेख गर्नुभएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई मकैको खेतीमा लेखिएको काला टाउके भनेको राणाका भाइदार र राता टाउके भनेको प्रधानमन्त्री स्वयंलाई नै भनेको हो भनी पोल लगाएर कृष्णलाललाई जेल हाल्न उक्साएका थिए । सोही आरोपमा अधिकारीलाई तत्कालीन राणा श्री ३ चन्द्रशमशेरले १९७७ साउन ११ मा ९ वर्ष कैद सुनाउनु भएको थियो ।

नेल र हतकडी सहित कठोर यातना दिई जेल भित्र राखिएका अधिकारीलाई प्रकाशित सबै पुस्तक बुझाएमा ३ वर्ष कैद मिनाहा गर्ने भनिएको थियो । १ हजार प्रति प्रकाशित गरिएको उक्त पुस्तकका ९ सय ९९ प्रति भेटिए र ती सबै जलाइए । एक प्रति पुस्तक भने नभेटिएको कारण उहाँको कैद सजाय घटेन ।

जेलमा रहनुभएका अधिकारीलाई क्षयरोग लाग्यो । त्यही रोगले थलिएर अधिकारीको विसं १९८० मा जेलमा नै निधन भयो । कृष्णलालको स्मृतिमा उहाँको जन्मथलो कठजोरमा अर्धकदको सालिक सहितको पार्क पनि निर्माण भएको छ ।