जनता टाइम्स

१ माघ २०८१, मंगलवार ०५:११

निर्माणाधीन संघीय संसद भवन अवलोकनमा राष्ट्रपति पौडेल


काठमाडौं, माघ १ । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद भवनको निरीक्षण गर्नुभएको छ ।

निर्माणधीन भवन निरीक्षणका लागि आउनु भएका राष्ट्रपति पौडेललाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरवारमा स्वागत गर्नुभएको थियो । सो अवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पाँच अर्ब ६७ करोड २७ लाख रुपैयाँको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिनुभयो ।

उहाँले संसदको वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको जानकारी पनि दिनुभएको छ । सचिव सिग्देलका अनुसार भवनको आन्तरिक साजसज्जाका लागि दुई अर्ब ३४ करोड ५४ लाखमा सम्झौता भएको छ। हालसम्म भवनको २५ प्रतिशत सजावटको काम सकिएको छ। भवनमा एक हजार तीन सय ५१ वटा कोठा रहेका छन जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन।