पोखरा, माघ ४ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाललाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
यसअघि पुस ७ गते पक्राउ गरी ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अदालतले भनेको थियो । न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिँदा छुटेका भुसाललाई त्यतिबेलाकै साइबर अपराधको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरीलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि भुसाल छुटेको र अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । भुसाललाई शुक्रबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । त्यो बेला फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरेको बताउनु भएका भुसाललाई पक्राउ गरी बिहानै पोखरा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्