जनता टाइम्स

४ माघ २०८१, शुक्रबार २३:१५

रास्वपामा बोल्नै प्रतिबन्ध, मुकुललाई पूर्ववत जिम्मेवारी दिन माग गर्दा प्रदेश अध्यक्षमाथि कारबाही


विराटनगर, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई निलम्बन गरेको छ । पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीमा फर्काउने पत्र पठाएपछि तिम्सिनामाथि यो कारबाही गरिएको हो ।

पार्टीको अनुशासन समितिका संयोजक डा. भरत मणि देवकोटाले काठमाडौंमा तिम्सिनालाई निलम्बन पत्र हस्तान्तरण गर्नुभएको छ । अनुशासन आयोगले तिम्सिनालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो ।

राजेशले पूर्वमहामन्त्री मुकुललाई पुरानै हैसियतमा फर्काउन माग गर्नुभएको थियो । तिम्सिनाले साधारण सदस्यबाट निष्कासित गरिएका पूर्व महामन्त्री ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेख्नुभएको थियो ।

सोही विषयलाई लिएर तिमल्सिनाविरुद्व अनुशासन समितिसमक्ष उजुरी परेको बहाना बनाएर कार्वाही गरिएको हो । सुनसरीको इटहरीमा बोलाइएको प्रदेश समितिको बैठकमा तिम्सिनामाथि कारबाही गर्ने प्रयास विफल भएको थियो । उक्त बैठकमा ६२ सदस्यीय प्रदेश समितिका जम्मा १३ जना सदस्य मात्र उपस्थित भएका थिए ।