झापा, माघ ११ । प्रेस चौतारी नेपाल झापाको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको जिल्ला अधिवेशन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गैर आवासीय नेपाली चानक पोखरेल, नारी सञ्चार गृहका अध्यक्ष रेजिना गौतम, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरूको गौरवमय इतिहास बोकेको संगठन भएको बताउनुभयो ।
उहाँले प्रेस चौतारी नेपाललाई एकताबद्ध बनाउन सबैले योगदान गर्नुपर्ने धारणा राख्नुभयो । देशभक्तका विरुद्ध भइरहेको घेराबन्दी चिर्न प्रेस चौतारी नेपाल आबद्ध पत्रकार सशक्त रूपमा उत्रिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
अधिवेशनले प्रदीप परियारको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा युवराज आचार्य, सह-सचिवमा राम निरौला र समावेशी सह–सचिवमा तिलक योञ्जन तामाङ निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा सरोज भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यहरूमा अस्मिता साँखी, नवीन योगी, भरत प्रसाईँ, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बानियाँ, सोम मंग्राती, रविकिरण बान्तवा, कविचन्द्र गुरागाईँ र किशोर उपरकोटी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराउनुभएको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस्