भक्तपुर, माघ २५ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल भक्तपुरको जिल्ला अधिवेशन बिहीबार उद्घाटन गर्दै अध्यक्ष बस्नेतले नेपालमा लोकतन्त्र ल्याउनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनसम्म पत्रकारको महत्पूर्ण योगदान रहेको बताउनुभयो । ‘माओवादीलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न नेकपा एमाले र खासगरी केपी शर्मा ओलीले धेरै भूमिका खेलनु भयो, माओवादी महाराजधिराजको पाउमा परेर लोकतन्त्र खाने अभियानमा थियो’, उहाँले भन्नुभयो ।
बस्नेतले यो इतिहासको सच्याइ भएको बताउँदै पत्रकारले यस्तो कुरा बोल्यो भनेर चित्त नदुखाउन आग्रह गर्नुभयो । ‘सत्य बोल्ने कुरामा आँट गर्नुपर्छ, पत्रकारले सत्य बोल्नु पर्छ, राजा ज्ञानेन्द्र पाउमा परेर प्रचण्ड प्रधानमन्त्री हुन तयार भएपछि नेकपा एमालेको टोली दिल्ली गयो, ७२ घण्टा वार्ता गरेपछि केपी ओलीले दिल्लीको होटेलमा बसेर १२ बुँदे सम्झौताको ड्राफ्ट गर्नुभएको हो, सच्चाइ यही हो’, उहाँले भन्नुभयो ।
१२ बुँदे सम्झौताका डिजाइनर केपी शर्मा ओलीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्पूर्ण भूमिका खेलेको बस्नेतले स्मरण गराउनुभयो । त्यही माओवादी २०६३ को परिवर्तन पछि वाइसिएल लगाएर एमाले सिद्ध्याउने अभियानमा लागेको बस्नेतले बताउनुभयो । त्यो बेला एमाले नेतृत्व आत्मसमर्पणका लागि तयार भइसकेको बेला महेश बस्नेतले नेतृत्व गरी यूथ बनाएपछि माओवादी साइजमा आएको उहाँले सुनाउनुभयो ।
सच्चाइको पक्षमा लड्दा धेरै अवरोध आउने उहाँले बताउनुभयो । गलतको प्रतिवाद गर्दा कस्तो परिणाम आउँछ भन्ने कुरा हेर्न केपी ओलीलाई हेर्दा हुने बस्नेतको भनाइ छ ।
सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार फरक कुरा भएको बताउँदै बस्नेतले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक समाजलाई सुव्यवस्थित बनाउन ल्याइएको उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल अराजकताको पक्षमा हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘नेपाल जिन्दाबाद भन्दा कसैलाई टाउको दुख्छ भने म बोलिरहन्छु’, उहाँले भन्नुभयो ।
आज केपी ओलीको सामाजिक सञ्जालमा किन विरोध भइरहेको छ भन्ने कुरा बुझ्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘भारतको आदेश पालना नगरे बापत, देश बनाउने काममा लागे बापत समृद्ध नेपाल निर्माणको नेतृत्व गरे बापत प्रधानमन्त्री केपी ओलीमाथि योजनाबद्द रूपमा आक्रमण भएको हो’, उहाँले भन्नुभयो ।
नेपाल बन्न नदिने विदेशी डिजाइन अनुसार केपी ओलीमाथि लगातार आक्रमण भइरहेका र त्यो आक्रमणलाई अब जस्ताको तस्तै जवाफ दिएर परास्त गर्नुपर्नेमा पनि अध्यक्ष बस्नेतले जोड दिनुभयो ।
अध्यक्ष बस्नेतले यो सच्चाइलाई प्रेस चौतारीका सवै सदस्यले बुझेर समाजलाई बुझाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्