काठमाडौं, फागुन ५ । नेकपा एमालेले पार्टीबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश सरकारका ६ मन्त्रीसहित प्रदेश पदाधिकारी, जिल्ला इञ्चार्ज र अध्यक्षहरुसँग छलफल गरेको छ ।
छलफलमा प्रदेश सरकारले गरेका कामहरू र आगामी आर्थिक बर्षको सम्भावित योजना तथा कार्यक्रमहरूका बारेमा छलफल तथा सुझाव संकलन गरिएको थियो ।
उक्त छलफलमा सहभागी ६ जना प्रदेश मन्त्रीहरुले हालसम्मको प्रगति र आगामी कार्ययोजनाका विषयमा आफ्ना प्रस्तुति दिनुभएको थियो ।
उक्त कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाका जिल्ला ईञ्चार्ज तथा पार्टी प्रदेशका पदाधिकारी तथा १३ वटै जिल्लाका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
प्रस्ततीकरण गर्ने प्रदेश मन्त्रीहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, स्वास्थ मन्त्री किरण थापामगर र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङ रहनुभएको थियो ।
प्रस्तुतीकरण पश्चात् जिल्ला ईञ्चार्ज र अध्यक्षहरुले मन्त्रीहरुलाई विभिन्न सुझाव प्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण बागमती प्रदेशसभाका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्