जनता टाइम्स

५ फाल्गुन २०८१, सोमबार ११:१३

पार्टी नेतृत्वमाथि आक्रमण हुँदा टाउको लुकाएर हिँड्नेहरूले पार्टीको रक्षा गर्न सक्दैनन : माधव ढुंगेल


जनकपुर, फागुन ५ । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीका नियमित गतिविधिमा पार्टीका नेता कार्यकर्ता नियमित अपडेट हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले मधेस प्रदेश कमिटीद्वारा जनकपुरमा आयोजित स्ववियु निर्वाचन र जनसंगठन निर्माण विषयक छलफल कार्यक्रम बोल्दै ढुङ्गेलले पार्टीका आधिकारिक कुरा पार्टीका सदस्यले नियमित बुझ्नु पर्ने स्पष्ट पार्नुभयो । यसको लागि पार्टीको वेबसाइट नियमित हेर्न पनि उहाँले आग्रह गर्नुभयो ।

अहिले नेकपा एमाले वडा केन्द्रित पार्टी अभियान र जनतासँग जनसंगठ अभियानमा जुटेको उहाँले बताउनुभयो । पार्टी सदस्यता विस्तार अभियानलाई यो अभियानको प्रमुख काम बनाइएको उहाँले स्पष्ट पार्नुभयो । यसमा पार्टी र पार्टीका जनसङ्गठनहरू मिलेर जानु पर्नेमा उहाँले जोड दिनुभयो ।

एमाले पार्टीका २३ वटा जनसंगठन रहेका बताउँदै ढुङ्गेलले ती जनसंगठन जनतासँग प्रत्यक्ष रूपमा जोडिनु पर्ने बताउनुभयो । ‘तल्लो इकाईसम्म कमिटी निर्माणको उद्देश्य अहिलेको अभियानले राखेको छ’, ढुङ्गेलले भन्नुभयो ।

प्रत्येक जनसंगठनका इकाईहरू व्यक्तिसम्म पुग्ने लक्ष यो अभियानले राखेको उहाँले बताउनुभयो । सोही लक्ष अनुसार काम गर्न उहाँले जनसंगठनका नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
संगठन र पार्टी प्रति आक्रमणको प्रतिवाद गर्नु अहिलेको अभियानको उद्देश्य भएको उहाँले बताउनुभयो ।

‘हाम्रो नीति र नेतृत्व माथि भएको आक्रमणको प्रतिवाद गरौँ, गलत कुराको सूचना प्रसार गरेर पार्टी माथि गरिएको आक्रमणलाई चिर्नु पर्छ’, उहाँले भन्नुभयो ।

पार्टी नेतृत्व माथि आक्रमण हुँदा टाउको लुकाएर हिँड्ने पार्टीको रक्षा गर्न नसक्ने उहाँले बताउनुभयो । पार्टी र नेतृत्व विरुद्ध गरिएका जबरजस्त कुप्रचारको प्रतिवाद गर्दै अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।