जनता टाइम्स

२७ फाल्गुन २०८१, मंगलवार २०:२६

सिरहामा नागरिकताको राजनीति : झुक्किएर हस्ताक्षर गरेका वडाध्यक्षबिरुद्ध उजुरी बोकेर अख्तियारदेखि संसदसम्म सांस्दको दौडधुप


सिरहामा वडाध्यक्षले झुक्किएर भारतीयलाई नागरिकताको सिफारिश गरेको बिषयमा चर्काे राजनीति भएको छ । झुक्किएर हस्ताक्षर गरेका वडाध्यक्षबिरुद्ध उजुरी बोकेर अख्तियारदेखि संसदसम्म सांसद आफै दौडधुपमा लागेपछि यो तथ्य उजागर भएको हो ।

काठमाडौं, फागुन २७ । सिरहाका एक स्थानीय हतका वडाध्यक्षले भारतीयलाई नागरिकता दिएको तथ्य खुलेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सिरहा २ का सांसद राजकिशोर यादवले यस्तो तथ्य खोल्नुभएको हो ।

नरहा गाउँपालिका–३ का वडाअध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारत बिहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नागरिकता प्राप्त गरेको सांसद यादवको भनाई छ । उनले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता प्राप्त गरेका थिए । नागरिकताका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उहाँकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर वडाध्यक्ष अन्सारीले सनाखत गर्न लगाएको यादवको भनाई छ ।

वडाध्यक्ष अन्सारीको सिफारिसमा मोस्ताक मियाँले नागरिकता लिएको भन्दै नरहा–३ के इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग आयोगसम्म उजुरी गरेका छन । तर हालसम्म यसबारे कुनै प्रक्रिया बढाइएको छैन ।

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्षसमेत रहेका सांसद यादवले आजनको संसदमा नागरिकता खरिद–बिक्री गर्ने काम सत्ता पक्षबाट भएको आरोप पनि लगाउनु भयो । स्थानीय इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारीले मोस्ताक मियाँलाई बोलाएर सोधपुछ गरेर छाडनु भएको थियो ।

सिरहाका सीडीओ वासुदेव दाहालले वडाध्यक्ष अन्सारी, नागरिकता बनाउने, सनाखत बस्नेहरूसँग बयान लिएको र त्यसमा थप अनुसन्धान भइरहेको बताउनु भएको छ । वडाध्यक्ष अन्सारीले पनि आफूले बयान दिइसकेको र भुलवस फाइलमा हस्ताक्षर भएको जानकारी दिएको बताउनु भयो । ‘मबाट भुलले फाइलमा हस्ताक्षर भएको हो, त्यो कुरा मैले स्वीकार गर्दै सीडीओ कार्यालयमा नागरिकता खारेजका लागि पत्र पनि पठाइसकेको छु, नागरिकता पनि जफत भइसकेको छ,’ अन्सारीले भन्नुभयो ।

नागरिकताका थुप्रै फाइल टेबलमा रहँदा गल्ती भएको उहाँको भनाइ छ । उहाँले यस बिषयलाई लिएर ‘विपक्षीहरूले आफूलाई जबर्जस्ती फसाउन खोजेको बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि आफूले यही बयान दिएको उहाँको भनाई छ ।