काठमाडौं, चैत्र २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्थम्भ भएको बताउनुभएको छ ।
शनिबार नेकपा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्धनका लागि राजनीतिकर्मी भूमिका विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो राजनीतिक परिवर्तन पछाडि समावेशितालाई संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रूपमा लिइएको बताउनुभयो ।
नेपालको संविधान यस अर्थमा उदाहरणीय छ भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुने गरेको पोखरेलले स्पष्ट पार्नुभयो ।
नेपालको संविधान र निर्वाचन सम्बन्धी कानुनले नै महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको उहाँले बताउनुभयो । स्थानीय तहमा ४० प्रतिशत भन्दा माथि र प्रदेश तथा प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको पोखरेलको भनाइ छ ।
महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । पार्टीका दस्ताबेजमा महिला सहभागिता सुनिश्चित गर्ने पार्टी नेकपा एमाले नै भएको पनि उहाँले दाबी गर्नुभयो । जतिबेला एमाले भूमिकामा आउँछ, त्यतिबेला महिलाको नेतृत्व स्थापित गर्दछ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेले नेपालको पहिलो राष्ट्रपति, पहिलो प्रधानन्यायाधीश, पहिलो सभामुख बनाउन भूमिका खेलेको उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो महिला मुख्यमन्त्री पनि एमालेले नै बनाएको उहाँले स्मरण गराउनुभयो । त्यस्तै पहिलो महिला मुख्य सचिव पनि एमाले नेतृत्वमा आएकै बेला भएको पोखरेलले बताउनुभयो ।
‘यो विषयको नेतृत्वकर्ता पार्टी हो नेकपा एमाले, हामीले यो तथ्यलाई स्थापित गरेका छौँ’, उहाँले भन्नुभयो ।
गएको स्थानीय तह निर्वाचनमा संविधानको अपव्याख्या गरेर एमाले विरुद्ध गठबन्धन गर्ने दलहरूले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा अलग अलग पार्टीका नाममा पुरुष उम्मेदवार उठाएकाले यस पटक स्थानीय तहमा महिला सहभागिता न्यून रहेको पोखरेलले बताउनुभयो ।
नेपालको संविधानले हरेक क्षेत्रमा शतप्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि पुरुष सहभागिता ६६ प्रतिशत भन्दा माथि हुन नसक्ने पोखरेलले बताउनुभयो ।
तर व्यवहारतः महिला सहभागिता ३३ प्रतिशतबाट माथि जान नसकेको बताउँदै उहाँले यसको लागि महिला सशक्तीकरण आवश्यक रहेको स्पष्ट पार्नुभयो । आर्थिक सशक्तीकरण नभई सामाजिक सशक्तीकरण सहज नभएको पोखरेलले बताउनुभयो ।
‘जबसम्म कमाइमा महिलाको सहभागिता बढ्दैन, तबसम्म राजनीतिमा महिला सहभागिता बढ्दैन, महिला सहभागिता बढाउने कुरा उत्पादनको ढाँचामा परिवर्तनसँग सम्बन्धित छ’, उहाँले भन्नुभयो ।
सामाजिक र सांस्कृतिक मान्यताको कारण पनि महिला पछाडि पारिएको पोखरेलले बताउनुभयो । तर अहिले पनि महिलाहरूको तिनै कुरामा आशक्ति देखिएको बताउँदै उहाँले त्यसलाई चिरेर महिला आन्दोलन अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्