काठमाडौं, १६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गर्नुभएको हो । मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उहाँले जानकारी दिनुभयो । तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ निर्णय सार्वजनिक गर्दै लिङ्देनले भन्नुभयो । शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । बैठकले तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने निष्कर्ष निकालेको छ ।













प्रतिक्रिया दिनुहोस्