काठमाडौँ, २५ चैत्र । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले बताएका छन् ।
मौसमविद डेभिट ढकालका अनुसार भोलि पूर्वको केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । पर्सि भोलिकोभन्दा अलि धेरै वर्षा हुने अनुमान रहेको छ । पर्सिदेखि वर्षा गराउने प्रणाली सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा पनि भोलि र पर्सि हल्कादेखि छिटपुट वर्षा हुने र आउँदो बिहीवार र शुक्रवार मध्यम वर्षा भएर प्रदूषण घट्न सक्ने मौसमविद् ढकालको भनाइ छ ।
अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा खण्डित वर्षासहित हिमपातको सम्भावना छ । यी चार प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीको वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मधेशसहित सबै प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली देखि मुख्यतया मौसम सफा रहने सम्भावना छ ।













प्रतिक्रिया दिनुहोस्