काठमाडौं, २७ चैत। काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ । आज दिउँसो काठमाडौंको मूलपानी, एअरपोर्ट, तीनकुने, चन्द्रागिरिलगायतका क्षेत्रमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ललितपुरको फुल्चोकी, भक्तपुरको सल्लाघारी, दुवाकोटलगायतका ठाउँमा पनि पानी परेको छ । काठमाण्डौको केही ठाउँमा अहिले पनि वर्षा भइरहेको र रातिदेखि भोलि बिहानसम्म पानी पर्ने अनुमान रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
भोलि र पर्सि पनि काठमाण्डौ उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो । अहिलेको वर्षाले वायु प्रदूषण घट्ने र किसानलाई राहत पुग्ने उहाँँको भनाइ छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशको पूर्बी भागको कोशीदेखि लुम्बिनी प्रदेशसम्मै धेरै ठाउँमा आज पानी परेको महाशाखाले जनाएको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायतका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परेको छ ।
धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव शनिवारसम्मै रहने भएकाले राम्रोसँग आकाश खुल्न र घाम लाग्न केही दिन लाग्ने देखिन्छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्