जनता टाइम्स

३१ चैत्र २०८१, आईतवार ०९:०३

पूर्वआइजीपी राणाको निधन


काठमाडौं, चैत ३१ । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (पूर्वआइजीपी) प्रदीपसमशेर जवरा (राणा) को निधन भएको छ । पूर्वआइजीपी जवराको ७८ वर्षको उमेरमा शनिवार निधन भएको हो ।

उहाँका छोरा नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दीपसमशेर जवरा (राणा) का अनुसार उहाँ विभिन्न रोगले केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँका शनिवार राती निधन भएको हो । जवराले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुभएको थियो ।

उहाँकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उहाँले सहजताका साथमा निर्वाह गर्नुभएको थियो । त्यसक्रममा इन्स्पेक्टर दर्जामा भर्ना भएर ड्युटीमा खटिनासाथ आफ्नै छोरा दीपलाई उहाँले अत्यधिक द्वन्द्व प्रभावित जिल्ला रोल्पामा खटाउनु भएको थियो ।

राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छोरा दीपसमशेर जानकारी दिनुभयो ।