जनता टाइम्स

९ बैशाख २०८२, मंगलवार ०७:०९

वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं , ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस भइरहेको बताउनुभएको छ । तर, यो उनीहरूको दिवास्वप्न मात्रै भएको प्रचण्डको भनाइ छ ।

विश्व सर्वहारा वर्गका नेता भीआई लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रचण्डले भन्नुभएको छ, ‘यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन् । तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो ।’ ‘किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ,’ प्रचण्डले भन्नुभएको छ ।

परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको प्रचण्डको भनाइ छ । पूँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उनले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको प्रचण्डको सन्देशमा उल्लेख छ । ‘मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ,’ प्रचण्डले भन्नुभएको छ ।
सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा वि.सं.२००६ साल (१९४९ अप्रिल २२) मा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको प्रचण्डको भनाइ छ ।

यही अवसरमा प्रचण्डले लेनिनको विचार एवं नेपाली जनताको त्याग, बलिदानको सम्मान र प्राप्त उपलब्धिहरूको रक्षा र विकासमार्फत समाजवादको यात्रामा एकजुट भई अघि बढ्न सबैलाई अपिल पनि गर्नुभएको छ ।