झापा, १३ वैशाख । आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटना भएको छ । काठमाडौंमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उहाँ बताउनुभयो। सबै आन्दोलनबाट फर्किएका शिक्षक रहेको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो।
घाइते एक जनाको अवस्था गम्भीर छ । ‘म ड्राइभरको सिट पछाडि नै थिएँ’, घाइते शिक्षक भण्डारीले भन्नुभयो , ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासी गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालें ।’ बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्