नेपाल भ्रमणमा रहनुभएका भाजपाका नेता बिजय चौथाइवाले तीन दिनमा १९ नेता भेटेर भारतको बिशेषगरी दुई सन्देश सुनाउनु भएको छ । भेटबार्तामा सहभागी नेताका अनुसार चौथाइवालेले राजतन्त्र पुनःस्थापनामा भारतको रुची नरहेको प्रष्ट सन्देश दिनुभएको छ ।
काठमाडौं, वैशाख १९। भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले तीन दिनको नेपाल भ्रमणमा प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित १९ जनासँग भेटेर शुक्रबार स्वदेश फर्किनु भएको छ ।
उहाँले संसद्भित्रका कांग्रेस, एमाले, माओवादी, रास्वपा, लोसपा र जनमत पार्टीका नेतृत्व र दोस्रो तहका नेताहरूसँग अलग–अलग भेट गर्नुभएको थियो । बुधबार काठमाडौं ओर्लिनुभएका उहाँले प्रधानमन्त्री केपीशर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटगर्नुभएको थियो । शुक्रबार काठमाडौं छाड्नु पूर्व उनले एमालेका महासचिव शंकर पोखरले, एमाले नेता उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टा छुट्टै भेट गर्नुभएको थियो ।
त्यस्तै, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्लेलाई पनि दिल्ली उड्नु पूर्व उहाँले भेट्नुभयो । यसअघि कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, प्रकाश शरण महत, एनपी साउद र उदयशमशेर राणा त्यस्तै गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणालाई उहाँले भेटे गर्नुभएको थियो ।
माओवादी नेता जनार्दन शर्मालाई पनि उहाले छुट्टै भेट् गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि उहाँले भेट गर्नुभएको थियो । उहाले खास दिल्लीको दुई ओटा शन्देश बोकेर आएको मानिन्छ ।
पहिलो : पहलगाम घटनापछि भारतका पक्षमा नेपालको प्रष्ट समर्थनको प्रस्ताव ।
एकजना नेपालीसहित २७ जना नागरिकको ज्यान जानेगरी भएको पहलगाम घटनालाई भारतले गम्भीर रूपमा लिएको छ। गत वैशाख ९ गते जम्मु–काश्मिरको पहलगाम हमला भएपछि नेपालले उक्त घटनाको विरोध गरिसकेको छ ।
नेपालका राजनीतिक दलहरूले सो घटनालाई आतंकवादी हमला भन्दै विरोधमा उभिएका पनि छन्। तर नेपालको असंलग्न परराष्ट्र नीतिका कारण घटनापछि आफूहरूले लिने कतिपय निर्णयमा नेपाल तटस्थ बस्छ कि भन्ने आशंका भारतलाई छ ।
‘पहलगाम घटनामा नेपाल सरकार, राजनीतिक दल र नागरिक स्तरबाट भएको भर्त्सनाबाट उहाँहरू सन्तुष्ट नै भएको नेपालका एक नेताले बताउनुभयो ,’ उहाँले भन्नुभयो ‘उहाँहरूले हामीबाट स्पष्ट समर्थनको अपेक्षा गर्नुभएको छ ।’
दोस्रो : नेपालमा राजतन्त्र या हिन्दु राज्य नचाहेको स्पष्ट सन्देश
भारतका विदेशमन्त्री एस। जयशंकरको अनौपचारिक दूत बनेर नेपाल आएका चौथाइवालेको भेटघाटको सबै चाँजोपाजो नेपालस्थित भारतीय दूतावासले नै मिलाएको थियो । उसले भेटघाटका निमित्त दलका प्रभावशाली तथा विश्वासिला नेताहरू छानेको थियो । यसमा भारतको उद्देश्य आफूहरूले नेपालका नागरिकलाई हिन्दु राज्यका लागि उक्साएका छैनौं भनेर जवाफ दिनपर्ने थियो । किनभने अहिले नेपालका राजनीतिक दल तथा जनस्तरमा भारतप्रति कुनै आंशका छ भने हिन्दु राज्य बनाउन र पूर्वराजाको समर्थनमा प्रदर्शन गर्न भारतीय समर्थन छ भन्नेमा छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा भएको स्वागत र्यालीमा उत्तर प्रदेशका मुख्य मन्त्रीको फोटोसहितको प्लाकार्ड देखेपछि यहाँका दलहरू थप सशंकित छन् । गत चैत १५ गते तीनकुनेमा नागरिकको ज्यानै जानेगरी पूर्वराजाका पक्षधरहरूले गरेको प्रदर्शन र तोडफोडले यहाँका दलहरू झस्किएका छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक नै बसेर भारतको संलग्नताबारे प्रष्ट हुने निर्णय नै गरेका थिए ।
त्यसैले नेपाल आएर यतिका नेतालाई भेट्दा आफ्नो कुरा प्रष्ट राख्न पाउनु चौथाइवालेका लागि मौका पनि थियो। त्यसैले प्रत्येक भेटहरूमा उहाँले नेपालमा राजवादी र हिन्दुवादीहरूको आन्दोलनमा आफ्नो कुनै पनि समर्थन नभएको प्रष्ट पार्नुभएको थियो । ‘भारत राजतन्त्र र हिन्दु राज्यको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सदभाव र छैन’, चौथाइवालेको भनाइ उद्धृत गर्दै एक नेताले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्