जनता टाइम्स

२४ बैशाख २०८२, बुधबार १७:०३

लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो : मन्त्री भण्डारी


विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो भएको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ मन्त्रालयद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले लोकतन्त्र स्थापना र सुदृढीकरणका पक्षमा उल्लेख्यनीय योगदान रहेको पत्रकारिता क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको विद्यमान अवस्थामा आमसञ्चार क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन पत्रकार जगत्बाट सरकारलाई रचनात्मक सुझाव प्राप्त हुने अपेक्षा गर्नुभयो । आमजनतामा भ्रम सिर्जना गरेर लोकतन्त्रलाई कमजोर बनाउने प्रपञ्च मुलुकमा भइरहेको उल्लेख गर्दै उहाँले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउन अनुरोध गर्नभयो ।

मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र पत्रकारिता क्षेत्रको भविष्य सुनिश्चत हुने प्रसङ्ग उल्लेख गर्दै पत्रकारको हकहितका पक्षमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘विश्वसनीय सूचनाको अधिकार ः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ मनाइको पत्रकारिता दिवसका अवसरमा आयोजित सो कार्यक्रममा स्वतन्त्र पत्रकार यज्ञ शर्माले ‘पत्रकारिताको समस्या र समाधानका विषय’मा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।