जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १५:५३

लुम्बिनीमा जनमत पार्टीकी प्रदेश सभा सदस्य गीता गुरुङद्वारा पदबाट राजीनामा 


काठमाडौं । बैशाख ३० गते

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बन्नुभएकी गुरुङले मंगलबार पदबाट राजीनामा दिनुभएको हो । लुम्बिनी प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी उहाँले दिनुभएको राजीनामा पत्रमा पदमा बसेर देश र जनताको लागि केही काम गर्न नसकेकोले राजीनामा दिएको उल्लेख छ ।

राजीनामा पत्रमा देश र जनताको पिर मर्का आफूले राम्रोसँग बुझेको उल्लेख गर्नुभएको छ । राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता आफूले बोकेको उहाँले स्पष्ट पार्नुभएको छ । ‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ, देश र जनताको पिर, मर्का मैले राम्ररी बुझेको छु, तसर्थ राष्ट्र र जनता भन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो’, उहाँले राजिनामापत्रमा लेख्नु भएको छ ।

देश र जनताको लागि काम गर्न नसकेपछि जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको उहाँको ठम्याई छ । म मेरो पदमा रहिरहन उपयुक्त सम्झिनँ, जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन, तसर्थ आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु’, उहाँले बुझाउनुभएको राजिनामापत्रमा उल्लेख छ ।

सो पार्टीमा लामो समयदेखि उहाँको अन्तर्विरोध थियो । साही अन्तर्विरोधको कारण राजीनामा दिएको हुनसक्ने अनुमान गरिएको छ ।

पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने उहाँको राजीनामा बारे पार्टी संसदीय दलको कार्यालयमा कुनै औपचारिक जानकारी नआएको बताउनुभयो । तर उहाँ प्रदेश सभा बैठक र पार्टी संसदीय दलको बैठकमा समेत लामो समयदेखि अनुपस्थित हुँदै आउनुभएको गुप्ताले बताउनुभयो ।

‘सायद उहाँले आफ्नै असक्षमताको कारण राजीनामा दिनुभएको होला, प्रदेश सभा बैठकमा  पनि २५ प्रतिशत पनि उपस्थिति छैन, संसदीय दलको बैठकमा बोलाउँदा समेत आउनुहुन्थ्यो, अहिले पनि उहाँको मोबाइल स्विच अफ छ, उहाँ युके बस्नु हुन्छ, सायद अहिले पनि युके जानुभयो होला’, उहाँले भन्नुभयो ।

गुरुङको प्रदेश सभा सदस्यको नाममा रहेको मोबाइलमा फोन गर्दा उहाँको फोन स्विच अफ छ ।