काठमाडौं, २ जेठ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मानिसहरूलाई उक्साएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० पछि हिरासतमुक्त हुनुभएको छ ।
संगठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रव गरेको आरोप लगेका मिश्रलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा छाड्ने आदेश दिएको हो । यस अघि उहाँलाई आठ पटक म्याद थप गरिसकेको थियो । सर्वोच्च अदालतका न्यायाधीश द्वय तिलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले उहाँलाई कानुन व्यवसायीको रोहबरमा हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।
हिरासत मुक्त भएछ मिश्रले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले आफूलाई आरोप लगाए जस्तो हिंसा फैलाउने योजना नबनाएको बताउनुभयो । ठुलो आन्दोलन भएको कारण त्यो आयोजकको वा सरकारको नियन्त्रणमा नभएको उहाँको भनाई छ ।
आफू हाजिरी जमानीमा छुटेकोले धेरै खुसी हुने पक्षमा नरहेको पनि उहाँले बताउनुभयो । राज्य आफू विरुद्ध लागेकोले अझै भन्न सक्ने स्थिति नभएको उहाँले सुनाउनुभयो । ‘मलाई साथ दिने र ममाथि विश्वास गर्ने विभिन्न पार्टीका, मिडियाका, चिनेका नचिनेका देश विदेशमा रहेका साथीहरूप्रति हार्दिक आभार प्रकट गर्छु, मैले राजसंस्था पुनः स्थापनाका लागि काम गरेकै हो, तर संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको काम मबाट केही पनि भएको छैन’, उहाँले भन्नुभयो ।
आफूले अनुसन्धानलाई सघाउँछु भनेर निरन्तर सघाएको भए पनि राज्य सुनियोजित ढङ्गले लागेको कारण हिरासतमा परेको ४८ औँ दिनमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्