प्रदीप कटवाल
संसारमा जुनसुकै दर्शन वा दृष्टिकोणबाट पनि नेतृत्व निर्माण हुने गर्दछ । नेतृत्वका लागि दीर्घकालीन लक्ष्य र रणनीति हुन आवश्यक छ ।
कहिलेकाहीँ नेतृत्व आकस्मिक रूपमा जन्मिन्छ, कहिलेकाहीँ परिस्थितिहरूले नेतृत्वलाई हाबी बनाउँछ । विभिन्न विचारधाराहरूले फरक ढङ्गबाट नेतृत्व निर्माण गर्छ । कतै पुँजीवादी मूल्य हाबी छ भने कतै समाजवादी अवधारणाहरू ओझेलमा परेका छन् । हाम्रो समाजमा अझै पनि सामन्तवाद मिश्रित चरित्र रहेको छ, जसका कारण हामीले निर्माण गर्न खोजेका पार्टी, समाजवादी अभ्यास र अवधारणामा बेलाबेलामा अवसरवाद हाबी हुन्छ ।
पार्टी निर्माण र समाज परिवर्तनको प्रयास वर्गीय दृष्टिकोणमा आधारित भए पनि व्यवहारमा पद, प्रतिष्ठा र मान–मर्यादाका लागि हुने होडबाजीले तलको वर्ग ओझेलमा पर्न सक्छ । यस्ता अवसरवादी प्रवृत्तिहरूलाई निराश नहुन संघर्ष मार्फत सामना गर्नुपर्छ । चुनौतीहरू समय अनुसार परिवर्तनशील छ । तर त्यसलाई पार गर्न निरन्तर अभ्यास आवश्यक हुन्छ ।
हाम्रो जीवनले भोगेका समस्याहरू थुप्रै छन् । ती समस्याहरूसँग जुझ्दै, सङ्घर्ष गर्दै, हामी आज यो ठाउँमा आइपुगेका छौँ । हाम्रो समाजमा आन्तरिक चुनौतीहरू गहिरा छन् । भने बाह्य समस्याहरू सतही रूपमा देखिन्छन् । समाज रूपान्तरण गर्न ठोस परिस्थितिमा ठोस विश्लेषण आवश्यक छ । निरन्तर संघर्षबाट उत्पन्न जटिलता बुझ्न आवश्यक छ । जसबाट हामीले व्यवहारिक जीवनमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ ।
एउटा सानो घटना वा समस्या जटिल बनाएर प्रस्तुत गरिएमा भविष्य अन्धकारमय हुन सक्छ । त्यसैले विश्लेषकहरू भन्छन्–सङ्घर्ष नै जीवन हो । संघर्षकै कारण काला दिनहरूमा उज्यालो खोजिएको हो । यदि ती संघर्षहरू नभएका भए, आज हामी यहाँ हुने थिएनौँ ।
अवसरको अभावमा युवा विदेश पलायन भई रहेका छन् । यसले नेतृत्व निर्माणमा बाधा पुर्याउँछ । युवालाई सशक्त बनाउन जिम्मेवारी दिँदै नेतृत्व अभ्यासको पनि अवसर दिनु पर्दछ । हामीले भावी पुस्तालाई उपभोक्तावादबाट उत्पादनमुखी सोचतर्फ डोर्याउन अनुसन्धानमूलक, व्यावसायिक धारमा लैजानुपर्छ । तर कतिपय व्यवहार खुलेर नआई अँध्यारो पाटाबाट चलाइन्छन् । जुन दीर्घकालमा आफैँ खण्डित हुन्छन् ।
हामीमाथि हाबी भएका पुँजीवादी सोच, सङ्कीर्णता, उदारवादी बखान, र विखण्डनवादी चरित्र नै आजका जटिलताको जड हुन् । तर कारण जे भए पनि हाम्रो लक्ष्य हो-विजय । त्यसका लागि ठोस सिद्धान्त, व्यवहारमा लागू गर्न सक्ने सङ्गठन र त्यसलाई नेतृत्व गर्न सक्ने क्षमता आवश्यक छ ।
यदि नेतृत्व आफैँ विखण्डित भयो भने त्यसले घातक परिणाम ल्याउन सक्छ । नेतृत्वले सत्य, न्याय र पारदर्शीताको मार्ग अपनाउनाले विश्वास जित्न सकिन्छ । चुनौतीपूर्ण समयमा निर्णयक भूमिका निर्वाह गर्ने क्षमता नेतृत्वमा हुनु पर्दछ ।
यस्ता समस्यासँग जुझ्नकै लागि मार्क्सवादको आवश्यकता महसुस भएको हो । मार्क्स नहुँदा पनि विगतमा समस्याहरूको विश्लेषण र समाधान खोजिएको थियो–वेद, पुराण, रामायणमा ।
आज हामी पुँजीवादी युगमा, कलियुगमा छौँ । निकास भनेको समाजवाद हुँदै साम्यवाद तर्फको यात्रा हो । त्यसका लागि साङ्गठनिक रूप, वर्गीय विभेद, पदीय आकाङ्क्षा र आर्थिक व्यवस्थापन जस्ता चुनौतीहरूलाई सम्बोधन गर्नुपर्छ ।
हामीले रोजेको बाटो जटिल छ । त्यसलाई सजिलो बनाउने प्रयत्न, शिक्षाको रूपमा मार्क्सवाद–लेनिनवादलाई आत्मसाथ गर्दै, विभिन्न ऐतिहासिक घटनाहरूबाट सिक्नुपर्छ । १८७१ को पेरिस कम्युन, १९१७ को अक्टोबर क्रान्ति, बोल्सेभिक–मेन्सेभिक द्वन्द्व, लेनिनको सैद्धान्तिक स्पष्टता र स्टालिनको साङ्गठनिक कठोरता–यी सबै नेपाली कम्युनिष्ट आन्दोलनका लागि सिकाइका विषय हुन् ।
नेपाली सन्दर्भमा हेर्दा, कम्युनिष्ट आन्दोलनको सुरुदेखि नै अवसरवाद एउटा चुनौती बनेर आएको हो । पार्टी विभाजन, व्यक्तिवाद र विभिन्न अवसरवादी प्रवृत्तिहरूको सामना गर्दै नेकपा एमाले यहाँसम्म आइपुगेको हो । आज पनि हामी भित्र ग्रास रुटदेखि नेतृत्व तहसम्म पसेका व्यावसायिक प्रवृत्तिहरू पार्टीलाई असर पारिरहेका छन् ।
विशेषतः वर्तमानमा केपी ओली नेतृत्व प्रति बाह्यसँगै भित्री चुनौतीहरू पनि गम्भीर छन् । यी चुनौतीहरूलाई समयमै पहिचान गरी सशक्त रूपमा सामना गर्नुपर्दछ । पार्टीलाई ठुलो बनाउने नाममा झाँगिएको विकर्षणवाद अहिलेको मुख्य रोग हो ।
क्रान्तिको गतिमा हामीले २०५६ र २०७४ का निर्वाचनहरूबाट केही सिक्नुपर्छ । आज सामाजिक सञ्जालमा देखिने निराशा त्यही विगतको फल हो । साम्राज्यवादले भित्रैबाट नष्ट गर्ने रणनीति अब झनै खतरनाक बन्दै गएको छ । माओले भनेझैँ, सयौँ फूलहरू फुल्न देऊ तर ती फूलमा लाग्ने किराहरूको उपचार पनि गर्नुपर्छ ।
आज सत्य–असत्य छुट्याउने शक्ति गुम्दो छ । नेता धेरै छन्, तर गुणस्तरीय नेता कम छन् । चुनावमार्फत वर्ग संघर्षको धार प्रकट भए पनि अवसरवादले त्यसलाई विकृत बनाइरहेको छ । सोभियत संघको विघटन, भारतीय कम्युनिष्ट आन्दोलनको असफलता र हाम्रो २०१५ सालको विभाजनदेखि हालसम्मका संघर्षहरू अवसरवादकै परिणाम हुन् ।
अन्ततः वर्तमानमा अध्यक्ष केपी ओलीले लिएको राष्ट्रवादी मार्ग, आर्थिक सुधारका प्रयासहरू र काँग्रेससँगको गठबन्धनलाई विवेकपूर्वक विश्लेषण गर्दै हामीले हतार नगरी, निराश नभई अगाडि बढ्नुपर्छ । भविष्य उज्यालो छ । त्यो उज्यालोलाई अन्धकारमा लैजान खोज्नेहरूलाई समयमै चिन्न र प्रतिकार गर्न आवश्यक छ । सक्षम नेतृत्व देशको मेरुदण्ड हो । हामी केपी ओलीको नेतृत्वमा देशलाई समृद्ध नेपाल बनाउने महान् अभियानमा जुटी रहेका छौँ ।
प्रतिक्रिया दिनुहोस्