जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार १६:०८

समृद्ध नेपाल,सुखी नेपालीका सूचकाङ्क पुरा गर्ने शिक्षाको पक्षमा छौँ : समिक बडाल 


काठमाडौं, २ जेठ। नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जेठ २५ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन तयारीमा जुटेको छ ।

काठमाडौंको कीर्तिपुरमा हुने अनेरास्ववियुको २४ औँ केन्द्रीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशन नयाँ नेतृत्व चयनको हिसाबले मात्र होइन नयाँ नीति र कार्यक्रम ल्याउने हिसाबले पनि महत्त्वपूर्ण हुने अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल बताउनुहुन्छ ।

अधिवेशनको लागि विभिन्न उपसमितिहरू बनाएर काम सुरु गरिएको बडालले जानकारी दिनुभयो । ‘मेरो नेतृत्वमा मूल व्यवस्थापन समिति बनेको छ, प्रतिवेदन लेखन, आवास, खाद्य व्यवस्थापन, प्रतिनिधि, व्यवस्थापन, प्रचार प्रसार लगायतका विभिन्न उपसमिति बनेका छन् र उनीहरूले काम गरिरहेका छन्’, उहाँले भन्नुभयो ।

हिजो राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा अनेरोस्ववियुको महत्त्वपूर्ण योगदान रहेको बताउँदै बडालले अब त्यसलाई संस्थागत गर्ने र देशलाई नवनिर्माण गर्ने कुरामा ध्यान जानुपर्ने बताउनुभयो । ‘नवीनतम सूचना प्रविधिको विकाससँगै नेपालको समृद्धिका लागि कसरी काम गर्न सकिन्छ भन्ने कुरामा हामी केन्द्रित भएका छौँ, विद्यालय शिक्षा विधेयक र उच्च शिक्षा विधेयकहरू कस्ता खालका ल्याउँदा समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित भएको छ’, उहाँले भन्नुभयो ।

देशको भविष्य निर्माणको आधारशिला भनेकै विद्यालय र विश्वविद्यालय भएका बताउँदै उहाँले यसमा नेपालको विद्यार्थी आन्दोलनले भूमिका खेल्नु पर्ने बताउनुभयो । ‘अबको विद्यार्थी आन्दोलन सूचना प्रविधिलाई उपयोग गरेर समृद्ध नेपाल,सुखी नेपालीका सूचकाङ्क पुरा गर्न तर्फ केन्द्रित हुनु पर्छ, हाम्रो महाधिवेशनमा यिनै विषयमा केन्द्रित रहेर छलफल हुन्छ’, बडालले भन्नुभयो ।

अबको शिक्षालाई श्रम र उद्यमसँग जोड्नु पर्ने उहाँको धारणा छ । युवा पलायनलाई रोक्न श्रम र उद्यमसँग जोडिने शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो । ‘यही नीति र कार्यक्रम हामीले महाधिवेशनबाट ल्याउँछौँ, यसलाई पुरा गर्न सक्ने खालको योग्य नेतृत्व महाधिवेशनबाट चयन गर्ने छौँ’, उहाँले भन्नुभयो ।

विद्यार्थीलाई नेपालमा नै पढ्ने र नेपालमा नै बस्ने बनाउन पाठ्यक्रम र पठन संस्कृतिमा नै परिवर्तन गर्नुपर्ने उहाँको धारणा छ । सिप र उद्यमसँग जोड्ने पाठ्यक्रम र सोही अनुसार शिक्षा दिने शिक्षण संस्था नबनाउने हो भने नेपालमा पढ्ने विद्यार्थी नहुने र शिक्षण संस्थाहरू खाली हुने बडालले बताउनुभयो ।

केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कम्तीमा एउटा स्थानीय तहमा एउटा शिक्षालय स्थापनाको अभियान गरेको स्मरण गराउँदै उहाँले ती सिपयुक्त शिक्षण संस्थाको अभियानलाई अब आवश्यकताको पहिचान गरी अघि बढाउनु पर्ने बताउनुभयो । ‘पाठ्यक्रमलाई नियमित अपडेट गराएर सिपयुक्त शिक्षालाई शिक्षालयसँग जोड्ने र त्यसबाट उद्योग र उद्यमशीलता सिर्जना गर्ने कुरामा युवालाई जोड्न सकियो भने मात्र आजको युवा पलायनलाई रोक्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो, हामी त्यही अनुसारका नीति तथा कार्यक्रम ल्याउँछौँ’, उहाँले भन्नुभयो ।

यस पटक अनेरास्ववियुको महाधिवेशनमा देशभरिबाट १५ सय बढी प्रतिनिधि सहभागी हुने उहाँले जानकारी गराउनुभयो । उनीहरूको व्यवस्थापन जिल्ला संगठन र केन्द्रीय महाधिवेशन आयोजक समितिले मिलेर गर्ने बडालले बताउनुभयो ।