जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार ००:०२

गभर्नर नियुक्तिसँगै राष्ट्र बैङ्कले लियो मेलो, सकियो कांग्रेस-एमाले फुटाउने प्रतिपक्षीको खेलो 


अब सबैले २०८४ को निर्वाचनलाई लक्षित गरे हुन्छ । २०८४ को निर्वाचनमा जसलाई जनताले बहुमत दिन्छन, उसैले सकार चलाउने हो । अरूलाई जनताले जुन–जुन थान्कोमा राख्छन, त्यही थान्कोमा थन्किएर बस्ने हो । अब पनि देशमा अस्थिरता मच्चाउँला र अस्थिरतामा रमाउँला भन्ने सपना नदेखे हुन्छ । नागरिकले सबै देखिसके, सबै भोगिसके । अब नेपाली जनता स्थिरताको पक्षमा छन, विकास र समृद्धिको पक्षमा छन । सारमा भन्दा समृद्ध नेपाल, सुखी नेपालीको पक्षमा छन् ।

नवराज पथिक

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको १८ औं गभर्नर नियुक्ति गरेको छ । मन्त्रिपरिषदको निर्णयले प्राध्यापक, डाक्टर विश्वनाथ पौडेल नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नर हुनुभएको छ । गभर्नरमा नियुक्त प्राडा. पौडेल नेपालका राम्रा अर्थशास्त्री मध्ये एक मानिनु हुन्छ । क्यालिफोर्निया विश्वविद्यालय बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका पौडेल विषयवस्तुमा राम्रो दख्खल राख्ने व्यक्ति हुनुहुन्छ । नयाँ गभर्नर नियुक्तिसँगै राष्ट्र बैङ्कले अब आफ्नो मेलो लिएको छ भने समाप्त भएको छ बिचौलियाको खेलो ।

नवनियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको रुपमा सदस्य बन्नुभएको थियो । तर उहाँ आफैँ गभर्नर बन्नुपर्ने अवस्थामा पुगेपछि सदस्य पदबाट राजीनामा दिनुभएको थियो । चितवन निवासी पौडेल २०७८ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँसँग योजना आयोगमा बसेर काम गरेको अनुभव पनि छ ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैङ्कमा गभर्नर पद रिक्त थियो । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले अवकाश पाएपछि नेपाल राष्ट्र बैङ्क कार्यवाहक गभर्नरबाट सञ्चालित थियो । नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति प्रक्रिया केही जटिल बनेको थियो । दुई दलीय गठबन्धनको कारण कसको सिफारिसमा को व्यक्तिलाई गभर्नर बनाउने भन्ने विषय छलफलको विषय बन्नु स्वाभाविक नै हो । अझ राष्ट्र बैङ्कभित्रकै प्राविधिक विषयको कारण पनि गभर्नर नियुक्तिमा ढिलाइ भयो ।

पार्टीभित्रै पनि कसको पक्षकालाई गभर्नर ल्याउने ? कसको मान्छे आउने ? कस्तो मान्छे आउने ? यसमा एक्सरसाइज हुनु त्यति अस्वाभाविक होइन । तर अस्वाभाविक चाहिँ त्यही गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनभित्र फाटो ल्याउने, सरकार ढाल्ने र कांग्रेस–एमालेलाई फुटाएर फेरि ठुला दलमाथि साना दलले शासन गर्ने प्रयत्न भयो । जुन खेलो मेलो मंगलवारबाट सकिएको छ । गभर्नर नियुक्तिको विषयलाई लिएर कांग्रेस–एमालेमा फाटो ल्याउने, दुई दलको गठबन्धन टुटाउने र फेरि सत्तामा गई ठुला दलको काँधमा टेकेर बन्दुक पड्काउने र आफ्नो र परिवारको आर्थिक समृद्धि ल्याउने खेलो मेलो आजबाट अन्त्य भएको छ । फेरि एकपटक कांग्रेस र एमालेले दुई दल मिलेर सहमति अनुसार अघि बढ्ने यात्रामा एउटा इँटा थपेका छन् ।

केही दिनदेखि सडकदेखि सदनसम्म प्रतिपक्षीको एउटै आवाज थियो–सरकारले राष्ट्र बैङ्कको गभर्नर पनि नियुक्ति गर्न सकेन, सरकार निकम्मा भयो, नालायक भयो, यो गठबन्धन कुही सक्यो, अब गलेर झर्न मात्र बाँकी छ । प्रतिपक्षको सबैतिर यही आवाज थियो । प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूको मुख्य एजेण्डा नै राष्ट्र बैङ्कको गभर्नर नियुक्त हुन नसकेको बुँदा थियो । नयाँ गभर्नर नियुक्तिसँग विपक्षीको महत्त्वपूर्ण एजेण्डा नै सकिएको छ । अब भोलिबाट बैठकमा उनीहरू के एजेण्डा लिएर आउने हुन ? सरकारलाई के आरोप लगाउने हुन् ? कांग्रेस र एमालेबीच फाटो गराउन र विभाजन ल्याउन कुन धूप हाल्ने हुन् ? कतै अब प्रतिपक्षी एजेण्डाविहीन त हुने होइन ? यो प्रश्न उब्जिएको छ ।

यतिबेला नेपाली कांग्रेस र एमाले बिचको गठबन्धन फुटाउन प्रमुख प्रतिपक्षी माओवादीलगायतका प्रतिपक्षी दलहरू निख्रिएरै लागेका छन् । दुई ठुला दल मिलेपछि साना दलको अस्थिरतामा खेल्ने खेल बन्द भएको छ । सत्तामा बस्ने, दंग्याउने, थर्काउने र धम्काउने खेती पनि ठप्प भएको छ । सत्तामा बस्न नपाउँदा, राज्यसत्ता दोहन गर्न नपाउँदा छटपटी चलेको छ । हिजो सत्तामा हालीमुहाली गरेकाहरूलाई सत्ता वियोगको असह्यै पीडा बोध भएको छ । उनीहरू सत्ताविहीन हुँदा पानी बिनाका माछो जस्तै छटपटाएका छन् ।

त्यसैले यो गठबन्धनलाई कसरी टुटाउन सकिन्छ ? कांग्रेस र एमालेको गठबन्धनलाई कसरी फुटाउन सकिन्छ ? शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच कसरी फाटो ल्याउन सकिन्छ भनेर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड लगायतका नेताहरू हात धोएरै लागेका छन् । माओवादी अध्यक्ष प्रचण्डले त एमालेले छाड्नुस, बाँकी सबै अवधि प्रधानमन्त्री बन्नुस । हामी सघाउँछौँ भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सार्वजनिक रूपमा नै भन्न भ्याउनुभयो । प्रचण्डबाट बारम्बार धोका खानुभएका देउवाले उहाँको आश्वासन पत्याउनु भएन । उहाँको कपटी चाल राम्रैसँग बुझेका कारण देउवाले उहाँका कुरालाई हावामा उडाइदिनु भयो ।

यसमा देशी मात्र होइन, विदेशी शक्तिको पनि त्यतिकै सक्रियता छ । विभिन्न बहानामा विदेशीहरू नेपालमा नेताहरूको ढोका ढोकामा चाहरी रहेका छन् । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको बहश चलिरहेको बेला पनि ती शक्तिहरू नेताहरूको ढोका ढोकामा नाच्दै थिए । उनीहरू मनोवैज्ञानिक रूपमा दबाब दिँदै थिए । एमालेलाई सत्ताबाट अलग्याउने तानाबाना बुन्दै थिए । तर उनीहरूको प्रयास पनि असफल भएको छ ।

केपी ओली प्रधानमन्त्री भएको कुरा भारतमा सत्तामा रहेकाहरूलाई पटक्कै मन परेको छैन । नेपालको एक राष्ट्रप्रेमी नेताले देशको नेतृत्व गर्दा उनीहरूको अभिष्ट पूरा हुनसकेको छैन । उनीहरूले आफ्नो इच्छा पुरा गर्न सकेका छैनन् । नेपालको अस्मिता लुट्ने उनीहरूको प्रयास सार्थक हुन सकेको छैन । उनीहरूको स्वार्थ सिद्ध हुन पाएको छैन । त्यसैले उनीहरू नेपालमा बलियो सरकार देख्न चाहँदैनन । नेपालमा राष्ट्रवादी, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ताको रक्षा गर्ने नेता नेतृत्वमा पुगेको देख्न सक्दैनन् । त्यसलाई असफल बनाउन अस्थिरताको खेती गर्ने खेतालाहरू प्रयोग गरेर नेपालमा अस्थिरता मच्चाइ रहने र आफ्नो स्वार्थ पूरा गर्ने प्रयत्न उनीहरूले निरन्तर गरिरहन्छ । त्यसको खेतालाको रूपमा प्रचण्ड लगायतका पात्रहरूले निरन्तर काम गरिरहेका छन् ।

त्यही अस्थिरताको खेती गर्ने प्रयास थियो–राष्ट्र बैङ्कको गभर्नर नियुक्तिसँग जोडिएको बहस । गभर्नर नियुक्तिको विषयलाई लिएर कांगेस र एमालेलाई भिडाउन सकिन्छ । दुई दलका नेताहरूलाई जुधाउन सकिन्छ । यही गभर्नरको विषयमा खेलेर सत्ता गठबन्धन टुटाउन सकिन्छ भनेर खोल खेल्ने प्रयास भयो । पानीको दहमा ढुङ्गा हाने जस्तै विषय वस्तुलाई उछालेर जसरी तरङ्गित गर्ने प्रयास गरियो । ती सबै प्रयास नयाँ गभर्नरको नियुक्तिसँगै नकाम भएका छन् । देशको बैङ्कहरूको पनि बैङ्क राष्ट्र बैङ्कले नयाँ गभर्नर पाएको छ । अनि सत्तारुढ दलको बिचमा के हो, कसो हो भन्ने खालको जुन चर्चा परिचर्चा भइरहेको थियो, त्यो चर्चा परिचर्चाले पनि निकास पाएको छ । दुई दलबीचको सहमति र सहकार्यलाई थप बलियो बनाउने एउटा आधार तयार गरेको छ ।

यसमा देशी मात्र होइन, विदेशी शक्तिको पनि त्यतिकै सक्रियता छ । विभिन्न बहानामा विदेशीहरू नेपालमा नेताहरूको ढोका ढोकामा चाहरी रहेका छन् । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको बहश चलिरहेको बेला पनि ती शक्तिहरू नेताहरूको ढोका ढोकामा नाच्दै थिए । उनीहरू मनोवैज्ञानिक रूपमा दबाब दिँदै थिए । एमालेलाई सत्ताबाट अलग्याउने तानाबाना बुन्दै थिए । तर उनीहरूको प्रयास पनि असफल भएको छ 

सत्तारुढ प्रमुख दुई दलबीच थप विश्वासको वातावरण बनेको छ । यो गठबन्धन तासको महल होइन जो एउटा कर्मचारी नियुक्तिका विवादमा ढलोस, एउटा मन्त्री र राज्यमन्त्रीको राजीनामाको विवादमा अल्झियोस भन्ने सन्देश दिएको छ । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिसँगै गठबन्धनका दुई ठूला दलले फेरि एकपटक सहमति, सहकार्य, एकता र सहअस्तित्वको सन्देश दिएका छन । कांग्रेस र एमालेका शीर्ष नेताहरू सबै खालका समस्यालाई मिलाएर अघि बढ्न सक्छन्, देश, जनता र व्यवस्थाप्रति यी दुई राजनीतिक दल र त्यसका नेताहरू इमानदार छन भन्ने सन्देश पनि गभर्नर नियुक्तिको प्रक्रियाले दिएको छ ।

धेरैले कांग्रेस र एमालेको सरकार २०८४ सम्म जाला त ? भनेर प्रश्न गरिरहेका छन । प्रमुख प्रतिपक्षी लगायतले यो गठबन्धन फुटोस, केपी ओली नेतृत्वको सरकार ढलोस, एमाले सत्ताबाट बाहिरियोस भनेर रातदिन धूप हालेर बसेका छन् । तर झिँगाको रिसले डिङा मर्ने अवस्था छैन । जति धूप हाले पनि यो गठबन्धन टुट्ने सम्भावना छैन । माओवादीसहितका प्रतिपक्षी धुप हालिरहँदा घटनाक्रमहरूले गठबन्धनलाई थप बलियो बनाउँदै लगेको छ । नेताहरूलाई अझ इमानदार र नैतिकवान बनाउन सिकाउँदै छ ।

कसैले कामना गरेर न सरकार ढल्ने अवस्थामा छ न गठबन्धन टुट्ने अवस्थामा छ । यो त अझै बलियो हुँदै पो गएको छ । गठबन्धनको गाँठो अझ कसिलो हुँदै पो गएको छ । सामान्य अवस्थामा देशका दुई प्रमुख शक्ति मिलेर सरकार बन्दै बन्दैन, बन्नै सक्दैन । देश असामान्य अवस्थामा जान लागेपछि, आर्थिक हिसाबले टाट पल्टिन लागेपछि, राजनीतिक अस्थिरताको कारण नागरिकमा बढेको असन्तुष्टिले सीमा नाघ्न लागेपछि, सामाजिक अराजकता र अस्थिरता बढेपछि देशलाई सही दिशामा ल्याउने अन्तिम विकल्पको रूपमा यो सरकार बनेको हो । स्पष्ट मार्गदर्शन, स्पष्ट नीति र स्पष्ट समय सीमासहित बनेको यो गठबन्धन बिचमा टुट्ने कुनै सम्भावना छैन । यस्ता सानातिना घटनाले सत्ता समीकरणमा कुनै प्रभाव पार्ने छैन ।

त्यसैले अब जनताले जसलाई जुन हैसियत दिएका छन, त्यही हैसियतमा बसे हुन्छ । जनताले दिएको जनादेशभन्दा बाहिर गएर फेरि पनि सत्तामा रमाउन पाइन्छ, राज्यका साधन श्रोतको दुरुपयोग वा दोहन गर्न पाइन्छ, राज्य बरु ध्वस्त होस्, जनताले जति सुकै दुःख पाउन तर आफू र आफ्नाले सुख पाउनुपर्छ भन्ने मनोवृत्ति अब त्याग्दा हुन्छ । सबै आ–आफ्नो थान्कोमा थन्किए हुन्छ । २०८४ अघि न यो गठबन्धन टुट्छ, न कांग्रेस एमालेमा कुनै विचलन नै आउँछ ।

अब सबैले २०८४ को निर्वाचनलाई लक्षित गरे हुन्छ । २०८४ को निर्वाचनमा जसलाई जनताले बहुमत दिन्छन, उसैले सकार चलाउने हो । अरूलाई जनताले जुन–जुन थान्कोमा राख्छन, त्यही थान्कोमा थन्किएर बस्ने हो । अब पनि देशमा अस्थिरता मच्चाउँला र अस्थिरतामा रमाउँला भन्ने सपना नदेखे हुन्छ । नागरिकले सबै देखिसके, सबै भोगिसके । अब नेपाली जनता स्थिरताको पक्षमा छन, विकास र समृद्धिको पक्षमा छन । सारमा भन्दा समृद्ध नेपाल, सुखी नेपालीको पक्षमा छन् । राजनीति गर्नेलाई यत्ति कुरा चेतना भया ।