जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १८:४९

डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय 


काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैङ्कको १८ औँ गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ‘विश्वनाथ पौडेललाई राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ’, उहाँले भन्नुभयो ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैङ्ककी कायममुकायम गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । यसअघि मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैङ्कमा गभर्नर पद रिक्त थियो ।  नीलम ढुङ्गानाले कायममुकायम गभर्नरको रूपमा काम गर्दै आउनुभएको थियो ।