जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ००:००

प्रेस चौतारीको नेतृत्वले भेट्यो प्रधानमन्त्री ओलीलाई, संगठन र राष्ट्रिय राजनीतिको बारेमा गर्‍यो छलफल


काठमाडौं, ११ जेठ । प्रेस चौतारी नेपालका पदाधिकारी लगायतका नेताहरूले आइतबार नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

संगठनका अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीको सरकारी निवासमा उहाँसँग भेट गरेको हो । भेटका क्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई संगठनको काम र योजना बारे अवगत गराइएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र करुणाकी खानी प्रथम महिला राधिका शाक्यज्यूसँग आजको प्रेस चौतारी नेपालको टिमको भेट भयो, संगठन, राष्ट्रिय राजनीति, सामाजिक कार्य लगायतको विषयमा महत्त्वपूर्ण छलफल भयो’, पाण्डेले भन्नुभयो ।

पाण्डेले आफूहरू निर्वाचित भएर आएपछि वर्ष २०८२ लाई प्रशिक्षण वर्षका रूपमा मनाउने घोषणा गरेर प्रशिक्षणका कार्यक्रमहरू सुरु गरिसकिएको जानकारी गराउनुभयो । यो वर्ष भरि नै जिल्ला तहसम्म प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिने र त्यसबाट प्रतिबद्ध र व्यवसायी संगठनका सदस्य उत्पादन गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षको प्रतिफलका रूपमा प्राप्त गणतन्त्र दिवसलाई जेठ १५ गते सरकारी स्तरमा मात्र होइन जनस्तरबाट समेत भव्य रूपले मनाउनु पर्ने बताउनुभयो । जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार समेत व्यापक प्रचार र सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गणतन्त्र दिवस र यसको महत्वको बारेमा प्रेस चौतारी नेपाललाई सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसारको अगुवाइ गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा संगठनका अध्यक्ष गणेश पाण्डेले प्रथम महिला राधिका शाक्यलाई प्रेस चौतारी नेपालको तर्फबाट फ्रेम सहितको फोटो हस्तान्तरण गर्नुभएको थियो ।