जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ००:१२

केपी ओलीको उत्साहलाई एकरत्ती पनि कम हुन दिने छैनौँ : क्षितिज थेबे 


काठमाडौं, १२ जेठ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पदका उम्मेदवार क्षितिज थेबेले राष्ट्रिय युवा संघ नेपाललाई अहिलेका युवाको माग अनुसार अघि बढाउनु पर्ने बताउनुभएको छ ।

आइतबार राती आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै थेबेले नयाँ पुस्ताको भावनालाई समेत समेटेर संगठन अघि बढ्नु पर्ने बताउनुभयो । युवा आन्दोलन र नेकपा एमालेलाई क्षयीकरण नगरौँ भन्ने लक्षका साथ आफू अघि बढ्न चाहेको थेबेले बताउनुभयो । थेबेले एमाले र युवा आन्दोलनलाई क्षयीकरण गर्ने अभियानमा नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

देशको विकासको नेतृत्व गर्ने नेता केपी ओली भएकोले उहाँको अभियानलाई सहयोग गर्न आफूले पुनः संगठनको अध्यक्ष पदमा उम्मेदवारी दिएको थेबेले बताउनुभयो । ‘यो देशमा कोही यस्तो नेता छ भने त्यो केपी ओली नै हो, देशको नेतृत्व गर्न सक्ने एक मात्र नेता केपी शर्मा ओली हो’, थेबेले भन्नुभयो ।

थेबेले केपी शर्मा माथि हुने सबै खालका आक्रमणका विरुद्ध काँध थापेर उहाँका उत्साहलाई एक रति पनि कम हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘केपी ओलीको उत्साहलाई एकरत्त पनि कम हुन दिने छैनौँ, समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षामा आँच आउन दिने छैनौँ, हाम्रो धरोहरलाई एक इञ्च पनि झुक्न दिने छैनौँ’, उहाँले भन्नुभयो ।

नेपालको युवा आन्दोलनलाई सही दिशामा अघि बढाउन आफूले पुनः संगठनको नेतृत्वमा आउन चाहेको उहाँले बताउनुभयो । देशलाई विदेशी दलालको क्रिडास्थल बनाउन खोजिएको कारण नेपाली युवा एक भएर अघि बढ्नु पर्ने स्थिति आएको थेबेको भनाइ छ ।

आजका युवाका प्रमुख समस्या बेरोजगारी भएको बताउँदै उहाँले राष्ट्रिय युवा संघ नेपाल त्यसको समाधान लिएर आएको बताउनुभयो । राष्ट्रिय युवा संघ नेपालले रोजगारी र स्वरोजगारीको अवधारणा लिएर युवाको बिचमा आएको उहाँले सुनाउनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा बोकेर हिँडेको संगठन राष्ट्रिय युवा संघ नेपाल भएकाले सबैको भरोसाको संगठन यही संगठन भएको उहाँले स्पष्ट पार्नुभयो ।