जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार ०९:४३

युवापुस्तालाई आन्दोलनमा होइन विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नुपर्दछ : दीपकप्रसाद देवकोटा 


काठमाडौं, १५ जेठ । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै देवकोटाले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र अथक प्रयासको देन भएको उल्लेख गर्नुभएको छ । ‘गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न बनाउँदै सबैलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको छ’, उहाँले दिनुभएको सन्देशमा उल्लेख छ ।

देशमा सबै खाले निरंकुशताविरुद्ध सम्पूर्ण राजनैतिक दल र आमनागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै आज पनि गणतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरी समृद्ध देश निर्माणका दिशामा सबै लाग्नु पर्दछ, अभ्यासमा कहीँ कतै कमजोरी भए होलान् तर विकल्प व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन हुनुपर्दछ, हाम्रो एक पुस्ता व्यवस्था परिवर्तनमा ऊर्जाशील समय खर्चिन बाध्य भयो तर आजको युवापुस्तालाई आन्दोलनमा होइन विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नुपर्दछ’, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

आजको दिनमा गणतन्त्रको मूल मर्म जनताको सर्वोच्चता, समावेशिता, समानता, विधिको शासन, सामाजिक न्याय र उत्तरदायिपूर्ण शासन प्रणालीको स्मरण गर्नु आवश्यक रहेको उहाँले बताउनुभएको छ । समग्र राष्ट्रको प्रगति र समृद्धिका लागि सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । ‘नयाँ पुस्तामा निराशाको बादल छाउनु अप्रिय कुरा भएको हुँदा कतै केही कमी कमजोरी भए सच्याएर द्रुत विकासको लय पक्रनुपर्छ’, उहाँले सन्देशमा लेख्नु भएको छ ।

परिणाममुखी कार्यहरूमा जोड दिएर युवापुस्ता र आम नागरिकको विश्वास जित्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । ‘हामी यो र त्यो भनेर घटना परिघटनामा विल्कुल अलमलिनु हुँदैन, इतिहासका विभिन्न कालखण्डका जनआन्दोलनका सहिदहरूको सहादत, घाइतेहरूको आहत अनि आश्रितहरू र आफन्तको पीडालाई उपेक्षा गर्नु अक्षम्य भूल हुनेछ’, देवकोटाले लेख्नु भएको छ ।

आजको दिन विशेष दिन भएको उल्लेख गर्दै उहाँले आजको दिन सबै खाले अस्थिरता र पश्चगमनका विरुद्ध एकजुट हुने दिशामा कोशेढुङ्गा साबित हुने उहाँको विश्वास छ । उहाँले सम्पूर्ण देशवासीमा आपसी सद्भाव, सहिष्णुता, सहकार्य र सहअस्तित्वको भावनासहित अगाडि बढ्न आह्वान गर्नुभएको छ । ‘हाम्रो साझा प्रयत्नबाट हामीले सभ्य, समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सक्ने विश्वास लिँदै पुनः सबैमा गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु’, उहाँको सन्देशमा उल्लेख छ ।