जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार १२:०३

दुरागाउँमा कोदाको पिठोबाट बिस्कुट


रामेछाप, १८ जेठ । लिखु तामाकोशी गाउँपालिका–१ नं वडा कार्यालय दुरागाउँले स्थानीय महिलाहरूलाई कोदाको पिठोबाट बिस्कुट बनाउने तालिम दिइरहेका छ ।

महिलालाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न सो तालिम दिइएको वडाध्यक्ष प्रदीप तामाङ बताउनुहुन्छ । महिलाको आर्थिक सुधारका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रम अन्तर्गत तालिम दिइएको उहाँले बताउनुभयो । तालिममा स्थानीय १५ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको छ ।

कोदोको पिठोबाट यस्ता सामाग्री बन्ने रहेछ भन्ने कुरा आफूहरूले थाहा पाएको बताउँदै सहभागी महिलाहरू तालिम सिके पछि गाउँमा नै सामूहिक लगानीमा बिस्कुट कारखाना खोल्ने बताउनुभयो । आफूहरूले उत्पादन गरेका पौष्टिक युक्त बिस्कुट कम्तीमा गाउँपालिकाका विद्यार्थीहरूलाई खाजाको रूपमा पुर्‍याउने योजना उहाँहरूले सुनाउनुभयो ।

पहिलो चरणमा बिस्कुट बनाउने तालिम दिइने बताउँदै तामाङले व्यावसायिक रूपमा काम सुरु गरेपछि थप अन्य परिकार बनाउने तालिम पनि दिने बताउनुभयो । ‘यो तालिम पछि राम्रोसँग काम गर्नुभयो भने अन्य तालिम पनि दिन्छौँ, यसकै थप राम्रो तालिम पनि चलाउँछौँ’, तामाङले भन्नुभयो ।

तालिम सिकेपछि उद्योग सञ्चालनको लागि आवश्यक उपकरण, फर्निचर लगायतमा पनि सहयोग गर्ने उहाँले सुनाउनुभयो । स्थानीय उत्पादनलाई नै जोडेर साना उद्योगहरू सञ्चालन गर्न सके त्यसमा दी गोपन हुने भएकोले पनि यस्तो कार्यक्रम राखिएको तामाङले बताउनुभयो ।