नवराज पथिक
रामेछाप, १८ जेठ । शैलुङ, गर्मी मौसममा सम्झँदा पनि आनन्द आउने ।
चिसो मौसम, धर्तीको उत्कृष्ट रमणीयस्थल शैलुङले कसलाई नलोभ्याउला र । तपाईँ जतिसुकै दबाब र तनावमा हुनुस् । शैलुङ पुगेपछि सारा दुःख, पीडा, तनावलाई भुल्नु हुन्छ ।
प्राकृतिक रूपमा बनेका सयौँ थुम्का, ती थुम्कामा प्रकृतिले नै गलैँचा जस्तै गरी मिलाएर ओछ्याइदिएको दुबो, चारै तिर डाँडाकाँडा, नजिकै हिमाल, आकाशमा तरेली खेलिरहेका बादलका समूहहरू, टाढा टाढासम्म देखिने पहाडी, अनि हिमाली बस्तीहरू । पाटनमा चरिरहेका चौँरी र घोडाहरू । शैलुङ पुग्दाको मज्जा नै अर्कै ।
समुन्द्र सतहबाट ३४ सय मिटरको उचाइमा रहेको रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ कुनै बेला निक्कै दुर्गम थियो । शैलुङ जान ठुलै आँट गर्नु पर्थ्यो, हिम्मत नै कस्नु पर्थ्यो । तर अहिले शैलुङ सुगम बनेको छ ।
रामेछापको सदरमुकाम मन्थलीबाट दोरम्बाबजार हुँदै शैलुङको फेदी खोलाखर्कसम्म नै बस पुग्छ । काठमाडौंबाट आउनेले बिपीमार्गबाट सित्खाको पुल तरेर गोगनपानी– गाल्पा–दोरम्बा हुँदै पनि शैलुङ पुग्न सक्छन् । काभ्रेबाट आउनेलाई चौँरीखोलाको पुल तरेर लखनपुर–टोकरपुर हुँदै शैलुङ पुग्ने बाटो पनि छ ।
रामेछापबाट मात्र होइन दोलखा पट्टीबाट पनि शैलुङ आउने बाटो छ । दोलखाको ढुङ्गे–कालापानी हुँदै शैलुङ आउन सकिन्छ ।
रामेछापको खोलाखर्कबाट शैलुङको टुप्पामा पुग्न २० मिनेटदेखि आधा घण्टासम्म समय लाग्छ । खोलार्कबाट शैलुङसम्म पुग्न रेलिङ सहितको सिँढी राखिएको छ ।
दोलखा पट्टीबाट आउनको लागि पनि शैलुङ ग्रेटवाल नाम दिएर सिँढी सहितको पर्खाल लगाइएको छ ।
शैलुङको टुप्पोमा टावर तथा आकर्षक च्छ्योर्तेन बनाइएको छ । सिँढी चढेर जब शैलुङको टुप्पोमा पुगिन्छ तब सबै थकाई बिर्सिन्छ । अद्भुत आनन्द अनुभूत हुन्छ ।
तपाईँ पुग्नुभएको छ त शैलुङ ? पुग्नु भएको छैन भने जीवनका कम्तीमा एक पटक पुग्नै पर्ने ठाउँ छ शैलुङ ।
शैलुङ प्राकृतिक रूपमा मात्र होइन धार्मिक रूपले पनि पवित्र भूमि हो । शैलुङलाई हिन्दु धर्मावलम्बीहरूले शिवको तपाेभूमि मान्दछन् भने बौद्ध धर्मावलम्बीहरूले बुद्धले पाइला टेकेको भूमि ठान्दछन् । धार्मिक र प्राकृतिक सौन्दर्यले भरिएको शैलुङ आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्