जनता टाइम्स

२० जेष्ठ २०८२, मंगलवार १४:३६

वडाध्यक्षको पहलमा बन्याे आगलागी पीडित गोविन्द सुनुवारको घर 


रामेछाप, २० जेठ । आर्थिक रूपले विपन्न रामेछापको लिखु तामाकोशी गाउँपालिका– २ सैपुका गोविन्द सुनुवारको घरमा गएको चैत २१ गते आगलागी भयो ।

आर्थिक रूपले विपन्न गोविन्दलाई घर जलेपछि ठुलो विपत् आइलाग्यो । घरमा आगलागी हुँदा मान्छे  त उम्किन भ्याए । घरमा भएको सामान केही झिक्न पाएनन् । जम्मा सरिरमा लगाएको एकसरो लुगा बाहेक केही बाँकी रहेन ।

साना दुई छोरा–छोरी, श्रीमती र गोविन्द घरबार विहीन भए । नखाने सामान, न लगाउने लुगा, न बास बस्ने ठाउँ । गोविन्दलाई ठुलो विपत्ति आइलाग्यो ।

गाउँमा विपत्ति आइलागेको थाहा भएपछि सबैभन्दा तलको सरकारको प्रतिनिधिको हिसाबले वडाध्यक्ष सन्तोष पौडेले पीडितको घरमा पुग्नुभयो । अवस्था दर्दनाक थियो । परिवारको रुवावासी थियो ।

गोविन्दको परिवारलाई नजिकैको छिमेकीको खालि घरमा लगेर राखिदिनुभयो । आफ्नै तर्फबाट खाना पकाएर खाने एक सेट सामान किनिदिनुभयो । केही खाने कुराको जोहो गरिदिनुभयो । त्यस पछि रेडक्रसले पनि केही सहयोग गर्‍यो, गाउँपालिकाले पनि सामान्य सहयोग गर्‍यो । तर बस्ने ठाउँका जोहो हुन सकेको थिएन ।

गोविन्दको आफ्नै घर बनाउने हैसियत थिएन । वर्षा लाग्न लागिसकेको अवस्थामा घरबास विहीन भएको गोविन्दको घर बनाउनको लागि वडाध्यक्ष पौडेलले सहयोग अभियान सुरु गर्नुभयो । फोन, फेसबुक मार्फत उहाँको घर बनाउन सहयोगका लागि अनुरोध गर्नुभयो र घरको जग राख्ने काम पनि सुरु भइहाल्यो ।

सहयोगी दाताहरुले सकेको सहयोग गरे । सबैको सहयोगले गोविन्दको घर निर्माणको काम सुरु भयो । नभन्दै २ महिनाको बिचमा गोविन्दको चिटिक्क परेको घर ठडियो ।

सहयोग सङ्कलनबाट नै आजसम्मको कामको सबै रकम भुक्तानी गरेर ट्वाइलेट बनाउनको लागि ठेक्का दिइएको पौडेलले बताउनुभयो । ‘अब चाँडै ट्वाइलेट तयार हुन्छ, त्यस पछि सहयोग सङ्कलन गरिएको रकमले पुग्यो भने एउटा भान्सा घर पनि बनाइदिने सोचमा छौँ’, पौडेलले भन्नुभयो ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका पौडेल वडाध्यक्ष निर्वाचित भएपछि निरन्तर सामाजिक काममा जुटिरहनुभएको छ । आफैँ श्रममा जुट्ने पौडेल स्थानीयको सुख, दुःखको साथी बन्नुभएको छ ।