जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार २१:०७

अन्तरजातीय विवाह गर्ने दलित जोडी सम्मानित, दलितका समस्याका विषयमा साझा बहस 


रामेछाप, २१ जेठ । १९ औँ जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसका अवसरमा बुधबार रामेछापको मन्थलीमा अन्तरजातीय विवाह गर्ने दलित समुदायका जोडीलाई सम्मान जातीय विभेद उन्मुलन कहिलेसम्म भन्ने विषयमा बहस सञ्चालन भएको छ ।

कार्यक्रममा मन्थली नगरपालिकाका अन्तरजातीय विवाह गरेका जोडीलाई नगद पुरस्कार र सम्मानपत्रद्वारा सम्मानित गरिएको छ । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले कार्यक्रममा उहाँहरूलाई सम्मान गर्नुभएको हो । मन्थली नगरपालिकाको आर्थिक सहयोग, राष्ट्रिय दलित कल्याण संघको सहआयोजना र राष्ट्रिय दलित पत्रकार संघ रामेछापको आयोजना भएको कार्यक्रममा १२ वटा विवाहित जोडिलाई सम्मान गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष नवराज विकको अध्यक्षतामा भएको कार्यक्रममा अन्तरजातीय विवाह गर्ने जोडीले समाजमा भोग्नु परेको पारिवारिक तथा सामाजिक समस्याको बारेमा आफ्ना अनुभव सुनाउनुभएको थियो ।

कार्यक्रममा जिल्ला स्थिति राजनीतिक दलका नेताहरू, नेपाल सरकारका सरोकारवाला निकायका प्रमुखहरू, सामाजिक संस्थाका प्रमुख, नागरिक अगुवा, दलित अधिकारकर्मी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । सहभागीले राख्नु भएको विभिन्न प्रश्नको जवाफ राजनीतिक दलका प्रतिनिधि, मन्थली नगरपालिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगायतले दिनुभएको थियो ।