जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार ०८:००

सप्तरीमा डाँका समूहद्वारा एक जनाको हत्या, नगद र गहना लुटपाट


काठमाडौं, २३ जेठ ।  सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन् ।सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । कान्तालालका भाइ रामाकान्त घाइते छन् । उहाँलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ । घटना शुक्रबार बिहान करिब १ बजे तिरको हो । ४–५ जनाको डाँका समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए । लुटपाटको प्रतिकार गर्दा घर धनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उहाँलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आउनुभएको थियो। उहाँमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए ।त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र ५०/६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् ।डाँका समूहले आक्रमण गरेको जानकारी शुक्रबार बिहान १ः२० बजे पाएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक टोली घटनास्थल पुगेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि नौ जनाको टोली खटिएको थियो । घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।