जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार १३:३१

अनेरास्ववियुको निर्वाचन कार्यतालिका : आज दिउँसो ४ बजेबाट मनोनयन दर्ता, भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान 


काठमाडौं, २७ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन कमिटीले जारी गरेको कार्यतालिक अनुसार नेतृत्व चयनको लागि उम्मेदवारी दर्ताको समय आज दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । दर्ता गरेको मनोनयन फिर्ता लिन चाहनेले राति १०ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन कमिटीले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली भने राति ११ बजे प्रकाशित हुने भएको छ ।

नेतृत्व चयनको लागि मतदान भोलि बिहानबाट हुने भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ । मतदान सकिए लगत्तै मतगणना हुने प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिक सार्वजनिक भए पनि पदाधिकारीमा भने सहमतिको प्रयास जारी छ । अध्यक्ष मण्डलले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटी तथा महासचिवमा दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेको भए पनि सहमति जुट्न सकेको छैन ।

पदाधिकारीमा सहमति भए पनि अन्य पदको लागि मतदान प्रक्रियामा नै जानु पर्ने भएकोले निर्वाचनको तालिका सार्वजनिक भएको हो । निर्वाचनको तालिका सार्वजनिक भए पनि अध्यक्ष मण्डलले अन्तिमसम्म सहमतिको प्रयास गर्ने जनाएको छ ।