जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार ०८:०७

आज पनि बोलाइयो प्रतिनिधि सभा बैठक, बैठक सञ्चालन हुने–नहुनेमा अनिश्चित 


काठमाडौं, २८ जेठ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

गत जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधि सभा बैठक आज फेरी बोलाइएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक पटक सहमतिका लागि दलहरूबिच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यसै गरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ ।

आज पनि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाउने हो वा होइन निश्चित छैन ।