काठमाडौं । केही दिन यतादेखि अत्यधिक गर्मी बढेपछि धमाधम विद्यालय बन्द गर्ने निर्णय भएका छन् ।
अत्यधीक गर्मी बढेपछि आजबाट विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
अत्यधिक गर्मी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेल मंगलबार सूचना जारी गर्दै नगरका मन्टेश्वरी, पूर्वप्राथमिकसमेत सामुदायिक र संस्थागत विद्यालयहरू आगामी शुक्रबारसम्मका बन्द गरिने जानकारी दिनुभएको छ ।
हाल दिइएको गर्मी बिदा आगामी बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न सबै विद्यालयहरूमा जानकारी गराइएको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरू छन् ।
अत्यधिक गर्मीको कारण चितवनको भरतपुर महानगरपालिकाले पनि ३ तीन विद्यालय बिदा दिने निर्णय गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै पूर्वप्राथमिक र मन्टेस्वरी समेत सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको हो ।
अत्यधिक गर्मीको कारण आजदेखि जेठ ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । सोही अनुसार महानगरभित्रका सबै विद्यालयहरू बन्द गर्न नगर कार्यपालिकाले अनुरोध गरेको छ । गर्मीबाट बालबालिकालाई जोगाउन घरमै बस्न, अत्यधिक घाममा बाहिर ननिस्कन र प्रशस्त पानी पिउन अभिभावकहरूलाई आग्रह गरिएको छ ।
त्यस्तै चितवनकै खैरहनी नगरपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले एक सूचना जारी गर्दै नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिनुभएको छ ।
विराटनगरमा पनि गर्मी अत्यधिक बढेको छ । गर्मीका कारण बाहिर निस्कनै नसक्ने अवस्था भएपछि त्यहाँका पनि विद्यालय बन्द गरिने भएको छ ।
अत्यधिक गर्मी बढेपछि विराटनगर महानगरपालिकाले २ दिन विद्यालय बन्द गरेको छ। गर्मी बढेपछि बुधबारदेखि २ दिन विद्यालय बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले सूचना जारी गरी जेठ २८ देखि ३० गतेसम्म पठनपाठन बन्द गराउन विद्यालयहरूलाई निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्