काठमाडौं, २८ जेठ । अनेरास्वियुको २४ औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि आज निर्वाचन हुँदै छ ।
निर्वाचन कमिटीका अनुसार उम्मेदवारको नाम माथि दाबी विरोध सकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेको लागि अहिले उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
दाबी विरोध माथि छानबिन र उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने छ । त्यस पछि मतदानको प्रक्रिया अघि बढ्ने छ ।
विद्युतीय मेसिनबाट मतदान हुने भएकोले मतदाताको अन्तिम नामावली निकालेपछि मेसिनमा उम्मेदवारहरूको नाम सेटिङ गर्नुपर्ने भएकोले राति १० बजे अघि मतदान सुरु गर्न नसकिने निर्वाचन कमिटीले जनाएको छ ।
राति अबेरै भए पनि राति नै मतदानको काम सक्ने तयारीमा अध्यक्ष मण्डल रहेको छ । ‘राति अबेर गरी भए पनि आजै मतदान सक्ने योजना छ’, अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले भन्नुभयो ।
अनेरास्ववियको अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुई उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्ष तर्फ भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ ।
त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ ।
महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ ।
उपमहासचिव पदमा अमर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ ।
सचिवको लागि भने ३६ जनाको उम्मेदवारी परेको छ ।
महाधिवेशनमा १ हजार ५ सय ३४ प्रतिनिधि छन् । १ सय ५१ पदको लागि ५ सय २१ जनाले मनोनयन दर्ता गरेका छन् ।
अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ ।
यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् ।
अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने छन् ।
प्रतिक्रिया दिनुहोस्