काठमाडौं, जेठ २९ गते । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि जारी मतदान राति १० बजेसम्म चल्ने भएको छ ।
नेतृत्व छान्नको लागि जारी मतदानको समय अपराह्न ४ बजेसम्म तोकिएकोमा सो समयमा मतदान नसकिएपछि साँझ ७ बजेसम्मको लागि समय थपिएको थियो । सो अवधिमा पनि मतदान नसकिएपछि राति १० बजेसम्म मतदानको समय तोकिएको अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतदानका लागि १ हजार ४ सय ५३ जना प्रतिनिधिलाई मतदान कुपन वितरण गरिएको छ । महाधिवेशनमा १ हजार ५ सय ३४ प्रतिनिधि छन् । यस हिसाबले करिब ९० मत नखस्ने देखिएको छ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ ।
एक जना खुल्ला उपाध्यक्षका लागि विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीलेको उम्मेदवारी परेको छ ।यसैगरी, एक महिला उपाध्यक्षमा आरती भट्टराई, सुजिता धिताल, अञ्जना सिवाकोटी र भवानी बजगाईँले उम्मेदवारी दिनुभएको छ ।
महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिनुभएको छ ।
विद्युतीय मेसिनबाट मतदान भएकोले मतदान सकिएको केही बेरमा निर्वाचनको परिणाम आउने अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्