काठमाडौं, १८ साउन। काठमाडौं– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिनुभएको छ । आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले निर्मला प्रकरणको अनुसन्धानमा कुनै कसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिनुभएको छ । ‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु ।’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’उहाँले सीमित स्रोत साधनका बिच प्रहरीमा सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधन स्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताउनुभयो । मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिनुभयो ।
‘प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ ।’ उहाँले भन्नुभयो ‘प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रूपमा बजेट बढी विनियोजन गरिएको छ ।’ प्रहरीभित्र सीआईबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पुरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोड दिनुभयो । सो क्रममा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुति राख्नुभएको थियो । वरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महारिक्षक चन्द्रकुवेर खापुङ् लगायत सीआईबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।













प्रतिक्रिया दिनुहोस्