जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार १६:४६

वंश भनेको बाबु मात्र होइन आमा पनि हो भन्ने धारणा विकास हुँदै गएको छ : रमेश लेखक 


काठमाडौं, साउन २९ । गृह मन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने अवधारणाबारे समाजमा बिस्तारै बुझाइ बढ्दै गएको बताउनुभएको छ ।

संघीय संसद्को विधायन व्यवस्थापन समितिमा बसेको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै उहाँले वंशज नागरिकताको आधारबारे स्पष्ट पार्दै विगतमा यो अवधारणा केवल बाबासँग मात्र जोडिने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो ।

‘बुबा जहाँका भए पनि, जुनसुकै वर्ग वा देशका भए पनि, जस माटोमा जन्मियो, त्यसको नागरिकता पाउने हाम्रो नेपालको सिद्धान्त वंशजको सिद्धान्त हो, अघिल्लो धारणा वंश भनेको बुबाको मात्र मानिन्थ्यो, तर अहिले बिस्तारै वंश भनेको आमा पनि हो भन्ने बुझाइमा समाज पुगेको छ’, उहाँले भन्नुभयो ।

उहाँले ब्रिटिस गोर्खाको नागरिकताको विषयमा पनि स्पष्ट धारणा राख्दै ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता लिएका व्यक्तिलाई नेपालमा दोहोरो नागरिकता नदिइने बताउनुभयो। ‘ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसकेकाले युकेको नागरिक हुने भएकाले उनीहरूलाई दोहोरो नागरिकता दिने व्यवस्था हुँदैन, तर जसले त्यो लिएका छैनन्, उहाँहरू नेपाली नागरिक नै हुन् भन्ने कुरामा स्पष्ट हुनुपर्छ’, लेखकले भन्नुभयो ।