हेटौँडा, साउन ३० । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मकवानपुर हेटौँडालाई यसै शैक्षिक सत्रदेखि एमबिबिएस (MBBS) पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यसले प्रदेशमा मात्र नभई मुलुकमा स्वास्थ्य शिक्षा क्षेत्रमा हेटौंडा हबकाे रुपमा विकास हुँदै गएकाे छ ।
प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् । बीएस्सी (BSC) नर्सिङ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रतिष्ठानमा यस वर्ष २० सिटबाट बढाएर ३० सिट पुर्याइएको छ । मेडिकल ल्याब टेक्नोलोजी (BMLT) र पब्लिक हेल्थ (BPH) कार्यक्रम भने २०–२० सिटमै यथावत् रहेका छन् । यस्तै, ब्याचलर अफ फार्मेसी (B-Pharmacy) कार्यक्रम पनि ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुँदै आएको छ ।
स्नातक तहका यी कार्यक्रमहरूसँगै, प्रतिष्ठानले स्नातकोत्तर तहमा पनि नयाँ उपलब्धि हासिल गरेको छ । यसै शैक्षिक वर्षदेखि एमडी (MD) को ७ विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट स्वीकृति प्रदान गरिएको छ । स्त्री तथा प्रसूति विभागमा २ सिट, र फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहेका छन् ।
वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफ्नै प्रदेशमै चिकित्सा अध्ययनको अवसर प्राप्त हुनुका साथै यसले देशभरका विद्यार्थीहरूलाई पनि आकर्षित गर्ने सम्भावना बढाएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘मुख्यमन्त्री हुँदा सुरु गरेको यो प्रतिष्ठानले उत्पादन गर्ने जनशक्तिले स्वास्थ्य सेवा प्रदान गर्न अब धेरै समय लाग्दैन ।’
स्वीकृत सिट सङ्ख्या वृद्धि र नयाँ कार्यक्रम थपिएको यस कदमले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको प्रमुख स्थानका रूपमा स्थापित गर्ने वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बताउनुभयो । उहाँले प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धान प्रवर्द्धन गर्दै आएको जानकारी दिनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले हेटौँडा अस्पतालमा अहिले छिमेकी प्रदेशबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार हाल दैनिक १ हजार ५ सयभन्दा बढी सेवाग्राहीहरूले अस्पतालमार्फत सेवा प्राप्त गरिरहेका छन् । प्रतिष्ठानबाट वाग्मती प्रदेश मात्र नभई मुलुकभरका नागरिकले दीर्घकालीन लाभ लिन सक्ने उहाँको भनाइ छ ।
प्रदेशकै गौरवको आयोजना अन्तर्गत सन् २०७६ मा प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरिएको थियो । स्थापनाको एक वर्षपछि २०७७ साउन १५ गते प्रतिष्ठानका उपकुलपति नियुक्त भई, भदौ १५ गते अन्य पदाधिकारीहरू नियुक्त गर्दै औपचारिक रूपमा कार्य प्रारम्भ भएको हो ।













प्रतिक्रिया दिनुहोस्